काठमाडौं। निर्वाचन आयोगले आगामी १६ मंसिरमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउँने रकमको सीमा तोकेको छ।
आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारले पद अनुसार खर्च गर्न पाउँने रकमको सीमा तोकेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले तोकेको खर्चको सीमा भित्र रहेर उम्मेदवारले निर्वाचनमा सहभागी हुन पाउँने बताए।
आयोगले महानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाका उम्मेदवारका लागि छुट्टाछुट्टै रकमको सीमा तोकेको हो।
जसअनुसार महानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम ७ लाख ५० हजारसम्म खर्च गर्न पाउने छन।
यस्तै उप–महानगरपालिका प्रमुखका लागि ५ लाख ५० हजार, नगरपालिका प्रमुख र उपप्रमुखका लागि ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने गरि सीमा तोकिएको छ।
वडाध्यक्षका उम्मेदवारहरूको हकमा महानगरपालिकाका वडाध्यक्षका उम्मेदवारहरूले ३ लाख, उपमहानगरपालिकाका वडा अध्यक्षका उम्मेदवारहरूले २ लाख ५० हजार, नगरपालिकाका वडा अध्यक्षका उम्मेदवारहरूले २ लाख र गाउँपालिकाका उम्मेदवारहरूले १ लाख ५० हजारसम्म खर्च गर्न पाउने छन।
स्थानीय तहका विभिन्न ४४ रिक्त पदमा उपनिर्वाचन हुनेछ। जसमध्ये जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष ३४ वटा पद रिक्त छ। ती पदमा आगामी १६ मंसिरमा उपनिर्वाचन हुनेछ।



