काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन।
सशस्त्र प्रहरीले चेकजाँचका क्रममा मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई विमानस्थल क्षेत्रबाट पक्राउ गरेको हो। उनीहरुले स्पिकरमा लुकाएर सुन ल्याएका थिए।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले एयर अरेबियाको जहाजमा यूएईको शारजाहबाटआउदै गर्दा उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रबाट सुनसहित नियन्त्रणमा लिइएको जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा चिनियाँ नागरिक जियान जोङ तथा म्यानमारका सान दाइङ तुङ र इ नोङ फु छन। उनीहरुले १२ थान स्पिकरमा सुन लुकाएर ल्याएका थिए।
नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको छ।



