पोखरा। सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने अनुसन्धानकै क्रममा हिरासतमा छन।
पछिल्लोपटक गत ८ कार्तिकमा ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले दिएको म्याद १४ कार्तिकमा नै सकिए पनि १९ कार्तिकसम्म सार्वजनिक बिदा परेकाले उनी हिरासतमा नै रहे। उनलाई प्रहरीले भोलि २० कार्तिकका दिन पुन: जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदै छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी आरोपमा बयान लिइसकेको छ भने बयानको प्रमाणिकरणसमेत सकिएको छ।
प्रहरीले लामिछानेलाई भोलि मंगलबार अदालतमा उपस्थित गराउने कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।
शर्माका अनुसार लामिछानेसँगै सहकारी प्रकरणमा मुछिएका छविलाल जोशीलाई पनि मंगलबार अदालत उपस्थित गराइँदैछ।
प्रहरी स्रोतका अनुसार सहकारी ठगीसँगै उनीमाथि सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामासमेत अनुसन्धान जारी रहेकाले पुन: म्याद थपका लागि अदालतबाट अनुमति लिइने तयारी छ।
लामिछाने गत २ कार्तिकमा काठमाडौँबाट पक्राउ परेका थिए भने उनलाई ३ गते बिहान कास्की ल्याइएको थियो। ४ गते ६ दिन र त्यसपछि ८ कार्तिकमा कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले समेत कास्की प्रहरीलाई पत्र पठाएकाले उनलाई त्यसतर्फ पठाउने तयारीसमेत भइरहेको प्रहरी स्रोत बताउँछ।
सम्भवत: २२ कार्तिक अघि नै लामिछानेलाई रुपन्देही लाने तयारी प्रहरीको भएको बुझिन्छ। २२ कार्तिकका दिन सार्वजनिक बिदा परेको छ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले अनुमति दिएसँगै रुपन्देही जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरिसकेको छ।
रुपन्देही प्रहरीले छविलाल जोशीसँग भने यसअघि नै बयान लिइसकेको छ। उनी ६ असोजमा काठमाडौको शंखमुलबाट पक्राउ परेका थिए। उनलाई पनि ८ कात्तिकमा चौथोपटक ७ दिनको म्याद थप भएको थियाे।



