काठमाडौं। अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ।
डीभी भर्ने अन्तिम म्याद आगामी ५ नोभेम्बर सम्म थियो। तर नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ७ नोभेम्बर २०२४ सम्म बढाएको सोमबार एक सूचनामार्फत जानकारी गराएको हो।
दूतावासले आवेदकहरूले डीभी भर्दा विभिन्न निर्देशनहरूको पालना गर्नुपर्ने पनि सूचनामार्फत भनेको छ। जसअनुसर आवेदकले डीभी भर्दा परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने छ।
यस्तै डीभी भर्दा पछिल्लो ६ महिनामा खिएको फोटो मात्र प्रयोग गर्नुपर्ने र आफ्नो डीभी–२०२६ पुष्टिकरण नम्बर सुरक्षित गरेर राख्नुपर्ने सुचनामा भनिएको छ।
दूतावासले डीभीका आवेदन दिन कुनै पनि शुल्क नलाग्ने र आवेदन https://dvprogram.state.gov/ बाट मात्र भर्न सकिने स्पष्ट गरेको छ।
नेपालमा भने डीभी भर्नका लागि दूतावासले जारी गरेको सुचना विपरीत शुल्क लिइँदै आइएको छ। फोटो स्टुडियो संचालकहरुले निश्चित रकम तोकेरै डीभी भर्न पाइने भनी प्रचारप्रसार गर्दै आइरहेका छन।



