काठमाडौं। आज देशका कुनै भुभागमा मेघगर्जनसहित वर्षा त कतै हिमपातको संभावना रहेको छ।
देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मणिपुर आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार केही प्रदेशमा सामान्य वर्षा, केहीमा मेघगर्जनसहित र केही स्थानमा हिमपातको संभावना रहेकोे जनाएको छ।
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।



