मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सुर्तीजन्य पदार्थको प्रयोगमा कडाइ गरे १५ वर्षमा बच्न सक्छ १ लाख बढी ब्यक्तिको ज्यान

सुर्तीजन्य पदार्थको प्रयोगमा कडाइ गरे १५ वर्षमा बच्न सक्छ १ लाख बढी ब्यक्तिको ज्यान

images
२०८२ मंसिर २६ गते, शुक्रवार
२०८२ मंसिर २६ गते, शुक्रवार
  • काठमाडौं। सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गरे आउँदो १५ वर्षमा १ लाख भन्दा बढी ब्यक्तिको ज्यान जोगाउन सकिने तथ्यांक प्रस्तुत भएको छ।

    images

    सुर्तीजन्य पदार्थको प्रयोगको रोकथाम तथा नियन्त्रणमा काम गर्दै आइरहेको संस्था एक्सन नेपालले काठमाडौ शुक्रबार आयोजना गरेको कार्यक्रमका वक्ता भाइटल स्ट्राटेजिज एसिया प्रशान्त क्षेत्रका निर्देशका डा. तारासिंह बमले सुर्तीजन्य पदार्थको नियन्त्रणमा सरकार कठोर बन्नु पर्ने राय राखे। 

    images

    उनले आफ्नो प्रस्तुतीकरणमा सन् २०१९ मा सुर्तीजन्य पदार्थको सेवनको प्रयोगबाट वार्षिक २४ हजार ८ सय ब्यक्तिको ज्यान गएको तथ्यांक रहेको भन्दै सन् २०२३ मा यो संख्या बढेर ३९ हजार २०० पुगेको पाइएको बताए।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एफसीटीसी, युएनडीपी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका संस्थाहरुले गरेको संयुक्त अध्ययन् (इन्भेष्टमेन्ट केस फर टोवाको कन्ट्रोल नेपाल) को प्रतिवेदनले सन् २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनमा सुर्तीजन्य पदार्थको सेवनबाट बार्षिक ३९ हजार २०० नेपालीको मृत्यु हुने गरेको उल्लेख गरेको छ।

    डा. बमले २०१९ देखि २०२३ पाँच वर्षको यो अवधिमा सुर्तीजन्य पदार्थको प्रयोगले मानिसको मृत्युुको दर बढाएको पाइएको भन्दै सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न सके बढ्दो मृत्युलाई पनि रोक्न सकिने बताएका हुन्। त्यसका लागि सरकारको नीति कठोर हुनै पर्ने उनी बताउँछन्।

    उनले भने, `सुर्तीजन्य पदार्थको सेवनले मान्छे मर्ने दर बढिरहेको छ, सुर्तीजन्य पदार्थको सेवनले एउटा परिवारमा एक जनाको ज्यान जाने मात्र होइन त्यसको असर पुरै परिवारमा परिरहेको छ, सरकारले सुर्तीजन्य पदार्थको प्रयोगमा कडाइ गरे आउदो १५ वर्षमा १ लाख १४ हजार ४०० मानिसको ज्यान बचाउन सकिन्छ।´

    डा. बमले हजारौं ब्यक्तिको ज्यान बचाउने मात्र होइन आर्थिक रुपमा समेत यसले फाइदा पुग्ने बताए। हाल प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा स्वास्थ्य उपचारमा १२.२ अर्ब रुपैयाँ खर्च हुने गरेको छ।

    यसैगरी वार्षिक सुर्तीजन्य पदार्थको सेवनका कारण हुने मृत्युका कारण २०.४ अर्ब रुपैयाँ बराबरको क्षति हुन्छ भने कार्यस्थलमा १२.७ अर्ब रुपैयाँ बराबरको उत्पादकत्व हानी हुन्छ। यसरी हरेक वर्ष जम्मा जीडीपीको १.२ प्रतिशत बराबरको आर्थिक नोक्सानी हुँदै आएको डा. बमले आफ्नो प्रस्तुतीकरणमा उल्लेख गरे।

    यदि सरकारले सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गरे वा अहिलेका नीतिलाई कडाइका साथ कार्यान्वयन गरे स्वास्थ्य उपचारमा वार्षिक २४ अर्ब रुपैयाँ बचत गर्न सकिने, मृत्युदरबाट हुने ३९.३ अर्ब रुपैयाँको क्षति रोक्न सकिने तथा २४.९ अर्ब रुपैयाँ बराबरको कार्यस्थल उत्पादकत्व हानि रोक्न सकिने डा. बमले बताए।

    समग्रमा, ८८.१ अर्ब रुपैयाँ बराबरको आर्थिक फाइदा हुने र ३.४ अर्ब रुपैयाँ लगानीमा २६ गुणा अधिक प्रतिफल प्राप्त हुने उनको दाबी छ।

    उनले सुर्तीजन्य पदार्थमा लगाइने करको वृद्धि प्रयोग नियन्त्रणको प्रभावकारी उपाय भएको बताएका हुन्। 

    कार्यक्रममा राष्ट्रिय स्वास्थ्य, शिक्षा सुचना तथा संचार केन्द्रका निर्देशक डा. राधिका थपलियाले सबै सरोकारवाला निकायको सहयोग र समन्वय सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा आवश्यक र प्रभावकारी हुने बताइन्। उनले प्रदेश र स्थानीय तहको पनि यसमा उत्तिकै भुमिका रहने बताइन्।

    स्वास्थ्य मन्त्रालयका कानुन शाखाका उपसचिव गोपीकृष्ण रेग्मीले सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न कुनै पनि बाहनामा स्वार्थ बाझिने गरेर काम गर्नै नहुने बताए।

    उनले अनुसन्धानका नाम देखि अदालतसम्मका मुद्दालाई प्रभावित पार्ने गरेर ब्यवहार हुँदा सुर्तीजन्य पदार्थको प्रयोगमाथिको नियन्त्रणमा अवरोध हुने गरेको पाइएको सुनाए।

    कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष ज्योती बानियाँले पनि सुर्तीजन्य पदार्थको प्रयोगमाथिको नियन्त्रणमा सरकार कठोर बन्नु पर्ने बताए। उनले सरकार नै अलमलमा पर्दा सुर्तीजन्य पदार्थमाथिको नियन्त्रणमा संसय पैदा हुने गरेको बताए।

    यसैगरी राष्ट्रिय स्वास्थ्य, शिक्षा सुचना तथा संचार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले अहिले हुने प्रयोगको असर १५/२० वर्षपछि देखिंदै जाने बताए। उनले अहिले चुरोट भन्दा पनि भेप र इ-सिगरेटको बिक्री बढेको बताए।

    पत्रकार रामप्रसाद न्यौपानेले संचार माध्यमले पनि सुर्तीजन्य पदार्थको विक्रीवितरणलाई निरुत्साहित गर्नु पर्ने तथा संचारगृहलाई समेत प्रभावित पार्ने किसिमका विज्ञापनलाई प्रश्रय दिन नहुने बताए।

    कार्यक्रममा सहभागीहरुले पछिल्लो समय युवा तथा विद्यार्थीहरु सुर्तीजन्य पदार्थको प्रयोगमा फसेको भन्दै परिवारले समेत आफ्ना सन्ततिको अवस्थाको ख्याल गर्नु पर्ने मत राखेका थिए।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend