काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले राष्ट्रिय औषधी प्रयोगशालाको क्षमता बढाउन जापान सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमसँगको शिष्टाचार भेटका क्रममा राजदूत तोरुले जापान सरकारले राष्ट्रिय औषधी प्रयोगशालाको परिक्षणको क्षमता बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। राजदूत तोरुले मन्त्री डा. गौतमसँग शुक्रबार शिष्टाचार भेट गरेका थिए।
भेटका क्रममा मन्त्री डा. गौतमले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य विमा, राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षणको क्षमता अभिवृद्धि, प्रवासमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सुधार जस्ता विषयहरु मन्त्रालयका प्राथमिकतामा रहेको बताइन्।
सो क्रममा राजदुत तोरुले पनि राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षणको क्षमता बढाउन आवश्यक पर्ने पूर्वाधार विकास तथा प्रवासमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य प्रवर्द्धन, परीक्षण तथा उपचारको लागि जापान सरकारले सहयोग गर्न सक्ने बताए।
भेटका अवसरमा मन्त्री डा. गौतमले नेपाल-जापानबीचको ऐतिहासिक मित्रता र भूकम्प, कोभिड-१९ जस्ता विपद्को समयमा जापानले गरेको गरेको अमूल्य सहयोग, कान्ति बाल अस्पताल, बीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जस्ता अस्पतालहरुको भौतिक संरचनाको निर्माणमा गरेको योगदानप्रति जापान सरकार, जापानी जनता प्रति धन्यवाद दिइन्।
भेटका क्रममा, दुई देशबीचको स्वास्थ्य क्षेत्रमा रहेको द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने बनाउने सम्वन्धमा गहन छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



