काठमाडौं। दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजका लागि घोषणा गरेको नेपाल बन्द र अनिश्चितकालीन आमहड्ताल फिर्ता लिएको छ।
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबिच सहमति भएपछि नेपाल बन्द र अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिएको हो।
सरकार र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबिच शनिबार बालुवाटारमा भएको वार्तामा सहमति बनेको हो। सो सहमतिपछि आजबाट हुने भनिएको नेपाल बन्द अभियानले फिर्ता लिएको हो।
छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी महाअभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति समेत भएको जनाइएको छ ।
वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी भएको थियो। साथै अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा नीराजन प्रसाईँ पनि वार्ता सहभागी थिए।
सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना लगायतको उपस्थिति थियो।
बैठकमा अर्को चरणको वार्ता महाअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी समेत भएको छ।




