काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शुशिला कार्कीलाई सत्ता छोड्न आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै घर जलाएर लुटपाट गरेर सत्तामा आएकाले चुनाव गराउने आधार सरकारसँग नभएको बताए।
उनले संसद् अनुचित ढंगले विघटन गरिएको भन्दै नेकपा एमाले संसद पुनर्स्थापनाका पक्षमा प्रष्ट रहेको बताए। उनले संसद विधिबाट मात्र विघटन हुने पनि जिकिर गरे।
ओलीले सर्वपक्षीय सरकार बनाउन र राष्ट्रिय सहमतिबाट संविधान संशोधन गर्नुपर्ने प्रस्ताव राखे। जेनजीका माग पनि संसदबाट पूरा गर्नुपर्ने भन्दै उनले संसद् पुनर्स्थापना गरेर संविधानको बाटोबाट हिँड्न आग्रह गरे।
राजनीतिक दलहरूलाई सम्बोधन गर्दै ओलीले भावनामा नबग्न र एकछिनलाई भ्रममा नपर्न पनि आग्रह गरे। उनले प्रतिशोधको भावनाले लोकतन्त्र जाँदा ताली पिट्न नहुने भन्दै सबै राजनीतिक दलहरूलाई आग्रह, पूर्वाग्रहको हिसाबले नसोच्न र यो असंवैधानिक सरकारको पछिपछि जन्तीजस्तो नलाग्न आग्रह गरे।
ओलीले नागरिक समाज र सञ्चारमाध्यमहरूलाई त्रासदीपूर्ण अवस्था भन्दै नडराउन पनि आग्रह गरे। नेकपा एमालेले प्रेस स्वतन्त्रताको रक्षा गर्ने भन्दै देशको पक्षमा उभिन पनि उनको आग्रह थियो।



