काठमाडौं। काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरिएको प्लास्टिकका फूल माला बरामद गरेको छ।
काठमाडौ महानगरका विभिन्न स्थानबाट शुक्रबार नगर प्रहरीको टोलीले ३५ बोरा प्लास्टिकका फूल माला बरामद गरेको हो।
काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले विभिन्न पसलबाट ३५ बोरा प्लास्टिकका माला बरामद गरिएको जानकारी दिए।
महानगरले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ।
अनुगमनका क्रममा कोटेश्वरबाट ना४ख ३१६८ नंको मालवाहक सवारीसाधनबाट विदेशी फूलका माला बरामद गरिएको पनि पाण्डेले बताए। महानगरपालिकाले फूल व्यापारीलाई सहजताका लागि ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थान तय गरेको छ।
कामपाले दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा यही कात्तिक १४ देखि १७ गतेसम्म चार दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, विजनेस सेन्टरहरुमा किसानहरुलाई निःशुल्क स्थान उपलब्ध गराइएको छ।
कामपाले गत वर्षबाट किसानलाई स्वदेशी फूल बिक्रीस्थल उपलब्ध गराउन थालेको हो। किसानलाई सहज होस् भनेर विभिन्न स्थानमा बिक्री स्थान तोकेको छ।



