काठमाडौं।गत शुक्रबार र शनिबार परेको भिषण वर्षापछि सडक केही स्थानमा संचालनमा आएपनि धेरैजसो स्थानमा अझै अवरुद्ध छ।
काठमाडौंबाट बाहिरिने मुख्न नाका नागढुंगा नौबिसे सडक खुला छ। तर सो सडकमा अझै ढुक्क भएर हिड्ने अवस्था छैन। सो सडकको विकल्पमा अहिले सितापाइला, धुनिवेशी, धार्के सडक प्रयोग गर्न थालिएको छ। यसैगरी टोखा , छहरे, नुवाकोट हुँदै गल्छीबाट पृथ्वीराजमार्ग प्रयोग गर्ने यात्रुहरुको संख्या पनि बढेको छ। यस्तै पृथ्वीराजमार्ग हुँदै मुग्लिन नारायणगढ तथा पोखरा पुग्न ककनी हुँदै गल्छीको सडकसमेत प्रयोग गर्न सकिने छ।
ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारीसाधन आज पनि चल्न सकेका छैनन्। सो सडक संचालन हुन अझै केही समय लाग्ने बताइएको छ। सो सडकका विभिन्न स्थानमा सडक भासिएका कारण सवारी साधन प्रभावित भएको हो।
बाढी तथा पहिरोले सडक अवरुद्धहुँदा वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन्।
कान्तीलोकपथ सडक अन्तर्गत मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलाको पुल बाढीले बगाएपछि सडक अबरुद्ध छ। हेटौंडा जानका लागि अहिले चन्द्रागिरी, चित्लाङहुँदै पालुङको सडक प्रयोग गर्न सकिने छ।
यस्तै काठमाडौं दक्षिणकाली तथा फर्पिङहुँदै हेटौंडा पुग्ने सडकसमेत अवरुद्ध छ। यसैगरी धुलिखेल हुँदै सिन्धुली पुग्ने सडकसमेत अवरुद्ध छ । सो सडक तत्काल संचालनमा आउँने अवस्था नरहेको बताइएको छ।
यस्तै काठमाडौंबाट धुलिखेल, पाँचखाल, दोलालघाट हुँदै दोलखा पुग्ने सडक सुचारु रहेको प्रहरीले बताएको छ । सो सडक हुँदै रामेछाप पुग्न सकिने छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ।
यसैगरी सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले सडक अवरुछ छ भने मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलिब्रिज बाढीले सडक प्रभावित छ।
यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ। गत २४ घण्टामा विभिन्न नाकाहरू हुँदै १० हजार ३ सय ७० ओटा सवारी साधनमा ५२ हजार २ सय ५४ जना यात्रुहरू काठमाडौँ उपत्यका भित्रिएका छन्। यस्तै, ११ हजार २ सय २१ ओटा सवारी साधनमा ६१ हजार २ सय ८५ जना यात्रुहरू उपत्यकाबाट बाहिरिएका छन्।



