काठमाडौं। अत्यधिक विद्युतको माग हुने लक्ष्मी पुजाको दिन `पिक डिमाण्ड´ हेर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं भार प्रेषण केन्द्र स्युचाटार पुगे।
विद्युतको माग र आपूर्तिको ब्यवस्थापन बुझ्न घिसिङ बिहीबार साँझ आफै प्राधिकरणको टोलीसहित कलंकी स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेका हुन।
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको जनाएको छ।
लक्ष्मीपूजाको दिन आइतबार साँझ ६.२५ बजे पिक डिमान्ड १६०२ मेगावाट रेकर्ड गरिएको हो। गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १४३८ मेगावाट थियो।
गत वर्षको भन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड १६४ मेगावाट बढी हो ल। तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहक बाहेकको हो। लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत गृहहरूबाट उत्पादन गरी आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ।
देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ। गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट निर्यात गरिएको थियो।
यस वर्ष बाढीपहिरोले क्षतिपुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ। यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको हो।
लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १८५५ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष प्रणालीको पिक डिमान्ड १९५५ मेगावाट थियो। यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३९० मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष ३६६ मेगावाट थियो।
कार्यकारी निर्देशक घिसिङले बिगतमा लोडसेडिङको अवस्थामा लक्ष्मीपूजाको दिनको विद्युत् मागलाई पिक डिमान्ड मान्ने गरिएकोमा अहिले त्यस्तो अवस्था नरहेको बताए।
कार्यकारी निर्देशक घिसिङले भने, 'आठ वर्षअघि लक्ष्मीपूजाको दिनको विद्युत् माग व्यवस्थापनका लागि आयात हुने गरेकोमा केही वर्षदेखि आन्तरिक उत्पादनलेनै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको हो, बाढीपहिरोले जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति नपुर्याएको भए यो वर्ष लक्ष्मीपूजाको दिन झन्डै एक हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्थामा हुन्थ्यौं।'
लक्ष्मीपूजाको दिन विद्युत् माग व्यवस्थापनका लागि जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०६ मेगावाट विद्युत् उत्पादन क्षमता भएता पनि प्राधिकरकणले पिक समयमा ६२ मेगावाटमा मात्र चलाएको थियो।
प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरुबाट ६२ मेगावाट, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत्गृहहरुबाट ९० मेगावाट, निजी क्षेत्रका विद्युत्गृहहरुबाट १३०४ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो। विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न सफल भएको प्राधिकरणको दाबी छ ।
कार्यकारी निर्देशक घिसिङसहित ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा पुगेका थिए।



