काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल बिच नगरपालिकाका नागरिकलाई सर्वसुलभ तरिकाले प्रसुति तथा स्त्री रोग सेवा उपलब्ध गराउने सम्झौता भएको छ।
सार्वजनिक सेवा प्रवर्द्धनका लागि आ.व. २०८२/८३ बाट तारकेश्वर नगरपालिकामा विशेषज्ञ सेवालाई विस्तार गरी समुदाय स्तर सम्म सर्वसुलभ तरिकाले प्रसुति तथा स्त्री रोग सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रवार सो सम्झौता भएको हो।
तारकेश्वर नगरपालिका, स्वास्थ्य शाखाको समन्वयमा नगर प्रमुख श्री कृष्ण हरि महर्जन र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार आर्थिक वर्ष २०८२/८३ को लागि सेवा विस्तार अन्तर्गत विशेषज्ञ चिकित्सकीय सेवालाई विस्तार गर्दै समुदाय तहमा सर्वसुलभ रूपमा प्रसूति तथा स्त्री रोग सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ।
यसैगरी हरेक महिनाको दोस्रो बुधबार वडा नं. १ अन्तर्गतको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा बहिरंग सेवा उपलब्ध गराइने, महिनाको अन्तिम बुधबार वडा नं. ८ अन्तर्गतको मनमैजु स्वास्थ्य बहिरंग सेवा केन्द्रमा प्रसूति तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा र अल्ट्रासाउन्ड (USG) सेवा संचालन गरिने उल्लेख छ।
यस्तै सेवा प्राप्त गर्ने बिरामीहरूलाई आवश्यक पर्ने निशुल्क औषधी तथा औषधीजन्य सामग्री वितरण गरिने सम्झौतामा उल्लेख छ।
नगरपालिकाले स्थानीय स्तरमा नै परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले उपलब्ध गराउने विशेषज्ञ चिकित्सकीय सेवालाई प्रदान गर्न यो सम्झौता गरिएको बताएको छ।



