बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

१४ दिनमा ११ सय २० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

१४ दिनमा ११ सय २० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

images
२०८२ कार्तिक २८ गते, शुक्रवार
२०८२ कार्तिक २८ गते, शुक्रवार
  • काठमाडौं। साझेदारसँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले गएको १४ दिनमा ११ सय २० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ।

    images

    पशुकल्याणका लागि काम गर्ने संघसंस्थाहरुसँगको सहकार्यमा कार्तिक १४ (२०८२) बाट सबै वडामा बन्ध्याकरणको काम सुरु गरिएको त्गियो।

    images

    बन्ध्याकरण गरिएका कुकुर तथा विरालोलाई रेविज विरुद्धको खोप पनि दिने गरिएको महानगरपालिकाका पशुचिकित्सक डा. पूजा खनालले जानकारी दिइन्।

    महानगरले गत वर्ष ६७० वटाको बन्ध्याकरण गरेको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो।

    यस्तै आर्थिक वर्ष २०८०।०८१ मा ५५ सय कुकुर र बिरालाको बन्ध्याकरण तथा १६ हजार जनावरलाई रेविज विरुद्धको खोप दिइएको थियो

    महानगरपालिकाले २०७९।०८० सामुदायिक कुकुर विरालोलाई रेविज विरुद्ध खोप दिने र बन्ध्याकरण गर्ने कार्यक्रमलाई नियमित सञ्चालन गरिरहेको छ।

    यस वर्ष गएको असोज २२ गते सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघसंस्थाबाट आवेदन आह्वान गरिएको थियो। आवेदनमध्ये छनोट भएका ५ वटा संघसंस्थाहरुलाई वडा छुट्याएर जिम्मेवारी दिइएको हो।

    यसरी प्रदान गरिएको जिम्मेवारीमा स्नेहाज केयरलाई वडा नम्बर २, ८, १२, १३, १४ र २९ गरी ६ वटा वडा जिम्मेवारी दिइएको छ। जसमध्ये केयरले वडा नम्बर १४ मा १५६ वटाको बन्ध्याकरण गरेको छ।

    काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (क्याट क्लिनिक)लाई वडा नम्बर ११, २१, २२, २४, २८ र ३० गरी ६ वटा वडाको जिम्मेवारी दिइएको छ। जसमध्ये सेन्टरले वडा नम्बर ११ मा २९ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ।

    पशुपन्छीप्रति निर्दयता रोकावट समाज, नेपाल (एसपीसीए) लाई वडा नम्बर १, ३, ४, ५, १८, २६ र २७ गरी ७ वटा वडाको जिम्मेवारी दिइएको छ। जसमध्ये समाजले वडा नम्बर १ मा ६२ वटा कुकुरको र वडा नम्बर ३ मा ८४ वटा कुकुरको बन्ध्याकरण गरेको छ।

    मण्डला भेटनरी अस्पताललाई वडा नम्बर ६, १०, २३, २५, ३१ र ३२ गरी ६ वटा वडा दिइएको छ। जसमध्ये अस्पतालले वडा नम्बर ६ मा ३३ वटा र ३२ मा ३४४ वटाको बन्ध्याकरण गरेको छ।

    काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर) लाई वडा नम्बर ७, ९, १५, १६, १७, १९ र २० गरी ७ वटा जिम्मा दिइएको छ। सेन्टरले अहिलेसम्म वडा नम्बर १६ मा ४०३ वटा कुकुरको बन्ध्याकरण गरेको छ।

    सामुदायिक कुकुरको बन्ध्याकरणका लागि छनोट भएका संघसंस्थालाई मिति कार्तिक १३ गते सम्झौता गरेर १४ गतेबाट नै काम थालनी गरिएको हो।
    यस वर्ष पुस अगाडि करिब ४ हजार कुकुरको बन्ध्याकरण गर्ने योजना छ। थप बजेटको व्यवस्था हुन सके थप ४ हजारको बन्ध्याकरण गर्ने योजना रहेको कृषि तथा पशुपन्छी विभागले जनाएको छ।

    एउटा कुकुर वा विरालोको बन्ध्याकरण गरेर रेविज विरुद्धको खोप लगाएवापत महानगरपालिकाले २ हजार ५ सय रुपियाँ भुक्तानी दिनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend