ललितपुर। ललितपुरस्थित इमाडोल स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै स्वास्थ्य प्रवर्द्धन केन्द्र बनाइएको छ।
बुधबार आयोजित एक कार्यक्रममार्फत महालक्ष्मी नगरपालिका र स्वास्थ्य बीमा बोर्डको सहकार्यमा इमाडोल स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै स्वास्थ्य प्रवर्द्धन केन्द्र बनाइएको हो।
स्तरोन्नति कार्यक्रमका लागि आयोजना गरिएको समारोहमा महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले औपचारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
अब यो केन्द्रबाट महालक्ष्मी नगरपालिकासहितका नागरिकले सहज रुपमा स्वास्थ्य बीमाको प्रथम सेवा प्राप्त गर्नेछन्। अर्थात् यो प्रवर्द्धन केन्द्र स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुका रुपमा सुचिकृत भएको छ।
सम्झौतापछि नगर प्रमुख श्रेष्ठले इमाडोल स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना महालक्ष्मी नगर क्षेत्रभित्र स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ र सहज बनाउनका लागि कोषेढुंगा सावित हुने दाबी गरे।
यसैगरी बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले बीमाप्रतिको जनताको भरोसालाई प्रवर्द्धन केन्द्रले थप बलियो बनाउने विश्वास व्यक्त गरे। उनले नागरिकको सहभागिताबाट नै बीमा प्रतिको भरोसा बढ्नेसमेत बताए
इमाडोल स्वास्थ्य प्रवर्द्धन केन्द्र महालक्ष्मी नगरपालिकाका वडा नं १, २, ३, ४, ५ र ६ लाई लक्षित गरी स्थापना गरिएको हो। अहिले लुभु स्वास्थ्य चौकीबाट पनि महालक्ष्मी नगरपालिकामा बीमाको सेवा उपलब्ध हुँदै आइरहेको छ।



