काठमाडौं। सुर्यदर्शन सहकारीको रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धि मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसँगको बयान सकिएको छ।
बुधबार लामिछानेसँग अन्तिम बयान लिइएको हो। उनी गत कार्तिक २ गते राती रास्वपाको केन्द्रीय कार्यालय चमती, काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई त्यही रात पोखरा पुर्याइएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले लामिछानेसँगको बयान सकिएको जानकारी दिइन।
लामिछानेलाई कास्की जिल्ला अदालतले ४ कार्तिकमा पहिलोपटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। पक्राउ परेकै दिनदेखि गणना हुने गरेर थप गरिएको सो म्याद ७ कार्तिकमा सकिएको थियो।
त्यसछि प्रहरीले अनुसन्धान बाँकी रहेको भन्दै लामिछानेलाई ८ कार्तिकमा पुन: म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएपछि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रोपटक प्रहरीलाई अनुमती दिएको थियो।
उनलाई हिरासतमा राख्न जिल्ला अदालत कास्कीले दिएको म्याद १४ कार्तिक (हिजो) बाट सकिएको छ। तर आज बिहिबारदेखि तिहारको बिदा परेकाले उनलाई अब बिदा सकिएपछि मात्र अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलीयाले जानकारी दिए।
सरकारी बिदा परेका कारण लामिछानेलाई अदालतले म्याद थप नगर्दा पनि प्रहरीले हिरासतमा राख्न पाउँने छ। यसो हुँदा यसपटक लामिछानेको तिहार हिरासतमा नै बित्ने भएको हो।
लामिछानेसँग १२ कार्तिकमा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए। लामिछानेको बयान नसकिएकाले बुधवार पनि निरन्तर बयान लिइएको हो। बुधबारको बयानसँगै उनको बयान सकिएको हो।
हालसम्मको बयानमा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेले सुर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन्। उनिमाथि सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ।
उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ। अब प्रहलीले उनलाई २० कार्तिकमा मात्रै अदालतमा उपस्थित गराउने छ।



