जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। उनले शनिबार नै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाइसकेका छन्।
शनिबार बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरुबीच विवाद उत्पन्न भएपछि राजीनामाको घोषणा गरेका थिए।
त्यसपछि सभामुख रामचण्द्र मण्डलले मधेश प्रदेश सभाको बैठक अर्को सूचना नहुनजेल सम्मका लागि स्थगित भएको घोषणा गरेका थिए।
सोनलले मधेस प्रदेशसभामा राजीनामा घोषणा गरेलगत्तै प्रदेश प्रमुखकहाँ पुगेर राजीनामा पत्र बुझाएका हुन्।
मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘मधेस प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको छु। मुख्यमन्त्री पदमा रहँदा सबैबाट प्राप्त सहयोगका लागि सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
उनी गत असिज २९ गते मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
उनलाई मुख्यमन्त्री नियुक्त हुँदा ६ दलको समर्थन थियो भने ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गरिएको थियो।



