काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको जन्मनासाथ ४ प्रमुख स्वास्थ्य समस्याको परिक्षण अनिवार्य गर्ने निर्णय गरेका छन।
स्वाथ्य मन्त्रीको यो निर्णय सँगै अब नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने भएको छ। मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्णय गरेका हुन।
`जन्मनासाथ थाहा पाउन सकिएमा बालबालिकालाई अपांगतासहितका प्रमुख स्वास्थ्य समस्याबाट बचाउन सकिने विश्वासका साथ यस्तो निर्णय गरिएको´ मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
निर्णयसँगै विशिष्टकृत मातृशिशु अस्पताल परोपकार अस्पताल, कान्ति बाल अस्पतालसहितका प्रसुती र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासँगै रगतबाट थाइरोइड परीक्षण हुनेछ।
यसैगरी सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण हुनेछ।
बालबालिकाको जण्डिससम्बन्धी परीक्षणसमेत ती अस्पतालहरुमा हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा बालबालिकाको जन्मनासाथ हुने परीक्षणको दायरा बढाएर अपांगता तथा प्रमुख स्वास्थ्य समसयाको निदान थालिने बताएका थिए।
विश्वमा ६ प्रतिशत बालबालिकामा जन्मनासाथ अपांगताको समस्या देखिने गरेको छ। तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने अध्ययनहरुले देखाएका छन्।
नेपालमा नवजात शिशुमा अपांगतासम्बन्धी समस्या कम गर्न यो निर्णय महत्वपूर्ण हुने विश्वास गरिएको छ। यसअघि परोपकार अस्पतालमार्फत परीक्षणका रुपमा जन्मजात अपांगतासम्बन्धी परीक्षणको मन्त्री पौडेलले शुरुवात गरेका थिए।



