बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

काठमाडौं महानगरमा कुकुरको बन्ध्याकरण गर्न १ करोड बजेट

काठमाडौं महानगरमा कुकुरको बन्ध्याकरण गर्न १ करोड बजेट

images
२०८२ कार्तिक २० गते, बिहिवार
२०८२ कार्तिक २० गते, बिहिवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण गर्न तत्कालका लागि १ करोड रुपैयाँ वजेट छुट्याएको छ।

    images

    महानगरभित्रका ३२ वडामा रहेका ४ हजार सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि महानगरपालिकाले पाँचवटा संघसंस्थासँग सम्झौता गर्दै बन्ध्याकरण सुरु गर्न लागेको हो। छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइएको छ।

    images

    आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघसंस्थाबाट मिति २०८२ असोज २२ गते आवेदन आह्वान गरेको थियो। 

    सोही अनुसार सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये पाँचवटालाई छनोट गर्दै बन्ध्याकरण कार्य सुरु गरिएको हो। सम्झौतामा विशेष गरि कुकुरको बन्ध्याकरणलाई प्राथमिकता दिइएको छ।

    काठमाडौँ महानगरपालिका कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले यो धर्ती कुकुरहरूको पनि हो भन्दै महानगरले कुकुरहरूको अभिभावक बन्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

    उनले बन्ध्याकरण कार्य व्यवसायिक भावले नभई सेवा भावले गर्न आग्रह गर्दै सम्झौताअनुसार तोकिएका मापदण्ड पूरा गर्न निर्देशन दिइएको पनि बताए।

    “कुकुर लगेर रिकभरी नभएसम्म नछोड्नुहोस्, कठिनाइ आएमा हामी फेरि छलफल गर्नेछौं,” उनको भनाइ थियो। न्यौपानेका अनुसार पहिलो चरणमा करिब १ करोड रुपैयाँको बजेटमा ४ हजार कुकुरको बन्ध्याकरण गरिनेछ। 

    आगामी पौष महिनाको नगरसभाबाट थप बजेट स्वीकृत भएमा थप ४ हजार कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको छ।

    कुनकुन संस्थाले गर्नेछन् बन्ध्याकरण?

    कृषि तथा पशुपंक्षी विभागकी पशु चिकित्सक डा. पूजा खनालका अनुसार, बन्ध्याकरणका लागि क्याट सेन्टरले वडा नम्बर ७, ९, १५, १६, १७, १९ र २० मा बन्ध्याकरण गराउँनेछन।

    यस्तै क्याट क्लिनिकले वडा नम्बर ११, २१, २२, २४, २८ र ३० मा, मण्डला भेटेनरी अस्पतालले वडा नम्बर ६, १०, २३, २५, ३१ र ३२ मा, स्नेहा केयर संस्थाले वडा नम्बर २, ८, १२, १३, १४ र २९ मा तथा एसपीसीए नेपालले वडा नम्बर १, ३, ४, ५, १८, २६ र २७ मा कुकुरको बन्ध्याकरण गराउने छन्।

    सम्झौता अनुसार, संघसंस्थाले वडाका जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा बन्ध्याकरण तथा भ्याक्सिनेसन कार्य सञ्चालन गर्नुपर्नेछ।

    बन्ध्याकरण वा खोप लगाइएका कुकुर–बिरालोको विवरण र तस्बिर सहितको प्रतिवेदन महानगरमा पेश गर्नुपर्ने छ। आवश्यक औषधि, सर्जिकल सामग्री तथा रेबिज खोप संघसंस्थाले आफैं खरिद गर्नुपर्नेछ।

    कार्य सम्पन्न प्रमाणित भएपछि प्रति एकाइ दरका आधारमा ८० प्रतिशत रकम भुक्तानी गरिने र बाँकी २० प्रतिशत अन्तिम चौमासिक प्रतिवेदनपछि भुक्तानी दिइने व्यवस्था गरिएको छ।

    बन्ध्याकरणपश्चात इयर नच (Ear Notch)लगाउने र भ्याक्सिनेसनपश्चात शरीरको देखिने भागमा हरियो रङ लगाएर पहिचान गर्ने व्यवस्था पनि गरिएको छ। बन्ध्याकरण गरिएका जनावरमा स्वास्थ्य समस्या देखिए वा नदेखिएको बारे तीन महिनासम्म निगरानी राख्ने जिम्मेवारी संघसंस्थाकै हुनेछ।

    यदि बन्ध्याकरण वा भ्याक्सिनेसन नगरी गरिएको दावी प्रमाणित भएमा सो संघसंस्थालाई प्रति जनावर एक लाख रुपैयाँ जरिवाना तथा सम्झौता रद्द गरी संस्था दर्ता खारेजीका लागि पत्राचार गर्ने सम्मको शर्तको व्यवस्था गरिएको छ। सम्झौता २०८३ सालको असार २० सम्म कायम रहनेछ।

    महानगरले बन्ध्याकरण तथा खोपको दर प्रति जनावर २ हजार ५ सय रुपैयाँ तोकेको छ। यसअघि आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र बिरालोको बन्ध्याकरण तथा १६ हजार जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो। 

    त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा ६ सय ७० वटा बन्ध्याकरण र १६ हजार ५ सय ६९ जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो।

    महानगरले वर्षेनी सामुदायिक कुकुर र बिरालोको स्वास्थ्य तथा नियन्त्रणका लागि यस्ता अभियान सञ्चालन गर्दै आएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend