काठमाडौं। नेपाल प्रहरीले असोज महिनामा मात्र सवारी दुर्घटनामा २४७ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ।
मंगलबार बिहान सार्वजनिक भएको तथ्यांकअनुसार मृतक मध्ये सबैभन्दा बढी पुरुष छन्। १७७ जना पुरुषले असोज महिनामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउँदा ५८ जना महिला, बालक ९ र बालिका ३ जनाले ज्यान गुमाएका छन्।
यस्तै यो अवधिमा दुर्घटनामा ८४८ जना गम्भीर घाइते भएका छन्। जसमा पुरुषको संख्या ५५६, महिला १७१, बालक ७९ र बालिका ४२ जना छन्।
यो अवधिका २७ सय ५७ वटा दुर्घटना भएको प्रहरीको रेकर्डले देखाएको छ। जसमा ३९ सय ४७ सवारीसाधन संलग्न छन्।
तथ्यांकअनुसार सबभन्दा बढी दुर्घटना रातको समयमा भएको छ। बिहान ६ देखि १२ बजेसम्म १९.७३ प्रतिशत, १२ बजेपछि साँझ ६ सम्म ३६.६० प्रतिशत र साँझ ६ बजेपछि राती १२ बजेसम्म ३७.६९ प्रतिशत, राती १२ देखि बिहान ५ सम्म ५.९५ प्रतिशत दुर्घटना भएको देखिन्छ।




