काठमाडौं। समाजवादी स्वतन्त्र ट्रेड युनियन महासंघ नेपालले श्रम क्षेत्र बुझेको व्यक्तिलाई श्रममन्त्री बनाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
महासंघले आज काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी महासंघका महासचिव सन्तोषकुमार श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउन माग गरेको हो।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष नवराज दाहालले अहिले श्रमिकहरुको समस्या धेरै भएकाले श्रम क्षेत्र बुझेको मानिसले मात्रै श्रमसम्बन्धी समस्या समाधान गर्न सक्ने बताए।
दाहालले श्रमिकमा समस्याका लागि महासंघ निरन्तर लागिरहेकाले महासंघसँग आबद्ध व्यक्तिलाई मन्त्रालय चलाउन सजिलो हुने पनि स्पष्ट पारे। महासंघले मन्त्रीका लागि नाम अघि सारेका व्यक्ति सिन्धुली निवासी हुन्।
महासचिव श्रेष्ठ नेपाल हेभी इक्वीपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघका अध्यक्ष पनि हुन्। महासंघले विज्ञप्तीमा भनेको छ– ‘देशभर करिब १८ लाख श्रमिकको हकहितको जिम्मेवारी लिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लामो समयदेखि नेतृत्वबिहीन छ, श्रमिकको समस्या बुझ्ने र समाधान गर्ने ब्यक्तिबिना मन्त्रालय संचालन असम्भव छ।’
दलगत नभई स्वतन्त्र रुपमा रहेको महासंघमा देशभर ३ लाख श्रमिक आबद्ध भएको महासंघले जनाएको छ। महासंघ २०६६ सालमा स्थापना भएको हो। महासंघले सरकारले गत साउनदेखि तोकेको श्रमिकको न्यूनतम मासिक ज्याला १९ हजार ५ सय ५० रुपैंयाँ पनि श्रमिकले नपाएकोमा चिन्ता व्यक्त गरेको छ।
महासंघले यो रकम पनि दैनिक जिवनयापनका लागि पर्याप्त नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले न्यूनतम ज्याला नदिनेमाथि निरीक्षण र कारबाहीको माग पनि गरेको छ।
महासंघले विद्युत बक्यौता नतिरेका उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काटिदिएर त्यहाँ कार्यरत धेरै मजदुर कामबिहीन भएकोमा पनि चिन्ता व्यक्त गरेको छ। महासंघले ती बन्द उद्योग संचालन गर्न र श्रमिकको रोजगारीको हक सुनिश्चित गर्ने वातावरण मिलाउन पनि सरकारसँग आग्रह गरेको छ।
विद्युत् महसुल तिर्न नसक्ने उद्योगहरुलाई अर्ध सरकारीकरण तथा राष्ट्रियकरण गरेर भए पनि श्रमिकको श्रमको हक सुनिश्चित गर्न महासंघले सरकारसँग माग गरेको छ।
महासंघद्धारा मन्त्रीमा सिफारिस श्रेष्ठले श्रम मन्त्रालय चलाउन यो क्षेत्र बुझेको मानिसले मात्रै सक्ने भएकाले सरकारलाई ध्यानाकर्षण गराइएको बताए।
महासंघले सरकारसँग विभिन्न ९ बूँदे माग पनि अघि सारेको छ। केही दिनअघि खगेन्द्र सुनारलाई श्रममन्त्री बनाउने सरकारको तयारी भए पनि अन्तिम समयमा उनको नाम विवादित भएकाले यो मन्त्रालय मन्त्रीबिहीन छ। प्रधानमन्त्री सुशीला कार्कीले नै श्रम मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएकी छिन्।



