काठमाडौं। विजया दशमीको पहिलो दिन आज हिन्दु धर्मावलम्बीहरुले घर, मन्दिर तथा दशैं घरहरुमा घटस्थापना गर्दै छन्।
काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज विहान शुभसाइतमा घटस्थापना गरिएको छ। बिहान ९ बजेर १६ मिनेटको साइतमा वसन्तपुरस्थित दशैं घरमा विधिपूर्वक जौको जमरा राख्दै घटस्थापना गरिएको हो।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाउँदै हर्ष बढाइँ गरेको थियो। आज देशका विभिन्न मठमन्दिरहरुमासमेत जमरा राखिनेक्रम सुरु भइसकेको छ।
यसैगरी हिन्दु धर्मावलम्बीहरुले आफूलाई सहज हुने गरेर घरमासमेत घटस्थापना गर्दै जमरा राख्ने गरेका छन्। आजको दिनलाई जमरे औंसी पनि भन्ने गरिन्छ। आज राखेको जमरालाई विजयादशमीका दिनमा टीका लगाउँदा देवी भगवतीको प्रसादका रुपमा लगाइने गरिएको छ।
विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन फुलपाती भित्राइने तथा कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।
यस्तै बडादशैंको दिनमा मान्यजनबाट टीकाप्रसाद ग्रहगण गर्ने परम्परा छ। यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ। विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटमा टीकाको शुभ साइत छ।



