चितवन। निरन्तरको वर्षाका कारण नारायाण्ढ–मुग्लिन र पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा अत्यावश्यकबाहेक यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले पहिरोको उच्च जोखिम बढेपछि सो सडकखण्डमा अत्यावश्यकबाहेक सकरभर यात्रा नगर्न आग्रह गर्दै शुक्रबार साँझ एक सुचना जारी गरेको हो।
वर्षासँगै बिहीबारदेखि स–साना पहिरोहरू निरन्तर खसिरहेको सूचनामा उल्लेख छ। सो सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाइ सवारी आवागमन सञ्चालन भइरहेको पनि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
उक्त खण्ड पहिरोको उच्च जोखिममा पर्ने र पहिरो खसिरहेकाले सकभर यात्रा नगर्न र गर्नैपरे सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी अर्यालले सूचनामार्फत आग्रह गरेका हुन्।
वर्षा निरन्तर भई पहिरोको जोखिम कायमै हुने अवस्था भएमा नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु खण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने अर्यालद्वारा जारी सूचनामा उल्लेख छ।
यस्तै उक्त सडकमा यात्रा गर्नु पूर्व जानकारी लिएर मात्र गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध पनि गरेको छ।
यात्रा गर्नपूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको मोबाइल नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।



