काठमाडौं। नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि केन्द्रीय संयोजन समिति गठन गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ बमोजिम महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन।
यस्तै समितिको सदस्यहरुमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव र जीवन परियार तोकिएका छन।
अन्य सदस्यहरुमा प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्यलाई देउवाले जिम्मेवारी दिएका छन।
समितिको सदस्य सचिवमा कांग्रेस पार्टी कार्यालयका सचिव प्रकाश शर्मालाई राखिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
निर्वाचन आयोगका अनुसार स्थानीय तहको उपनिर्वाचनका लागि रास्वपासहित २५ दल दर्ता भएका छन्।
दल दर्ता सूचीअनुसार पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी छ। यस्तै दोस्रो नम्बरमा मंगोल नेशनल अर्गनाइजेशन दर्ता भएको छ।
यसैगरी नेपाली कांग्रेस तेस्रो नम्बरमा तथा जनता समाजवादी पार्टी नेपाल चौंथो नम्बरमा दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
यस्तै पाचौंमा नेपाल समाजवादी पार्टी, छैठौंमा नेकपा माओवादी केन्द्र, आठौंमा राप्रपा दर्ता हुँदा नेकपा एमाले १३ नम्बरमा दर्ता भएको छ भने रास्वपा १४औं नम्बरमा दर्ता भएको आयोगले जनाएको छ। अन्तिममा नेपाली जनता दल दर्ता छ।



