काठमाडौं। काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले सिंहदरबार वैद्यखानालाई सरकारले चलाउन नसके काठमाडौं महानगरपालिकाले चलाउने बताएका छन।
सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले वैद्यखानालाई सरकारले चलाउन नसके काठमाडौं महानगरपालिकाले चलाउने बताए।
उनले वैद्यखानाको अवस्थाले देशको अवस्था नै कस्तो छ भन्ने जानकारी हुनेसमेत स्पष्ट पारे।
`अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ,´ काठमाडौं महानगरका प्रमुख साहले भने।
उनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताए।
निजी संस्थाको प्रभाव र दवाबमा सरकारी उद्योगलाई डुबाइने गरिएकोसमेत उनले दाबी गरे।
`९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दिइन्छ, भाडामा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ।´ उनले अगाडी भने।
महानगर प्रमुख साहले आफुले वैद्यखानालाई राम्ररी बुझेको भन्दै पहिले संरचना नहुँदा र खाली ठाउँ धेरै हुँदा औसधि धेरै बन्ने गरेको तर अहिले जताततै भवन हुँदा औसधिको उत्पादन भने कम भएको बताए।
यस्तै आयुर्वेदिक औसधिका लागि चाहिने कच्चापदार्थ ल्याउने विषयमा पनि चलखेल हुने गरेको भन्दै उनले ठेकेदारले त्यहिअनुसारको कच्चापदार्थ ल्याइदिदा औसधिको गुणस्तर पनि कमसल हुन सक्ने बताए।
सरकारद्वारा सञ्चालित उद्योग कलकारखाना घाटामा जानुको कारण उल्लेख गर्दै उनले वैद्यखानालाई धराशयी पर्न नदिन सामूहिक पहलको आवश्यकतासमेत औंल्याए।
साहले आयुर्वेदिक उपचार पद्धति नेपालीको संस्कार र संस्कृति भएको भन्दै अगाडी भने,`आयुर्वेदिक उपचार पद्धति हाम्रो संस्कार र संस्कृति हो, जसरी हामीले सनातन धर्मलाई मान्छौँ त्यसरी नै मान्दै आएको विषय हो,´उनले भने ।



