काठमाडौं। साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीचको फाइनल खेल हुँदैछ। खेल हेर्नका लागि अनलाइन टिकट बुकिङ नहुने भएपछि टिकट केन्नहरुको बिहानैबाटै भिड छ।
अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुरको जावलाखेल मैदान र भद्रकाली स्थित नेपाली सेनाको गेट तर्फबाट बुधबार बिहानैदेखि टिकट बिक्री गरेको हो।
एन्फाले जावलाखेल चोकबाट बिहान ८ बजेदेखि टिकट बिक्री सुरु गरेको थियो। टिकट बिक्री हुनु अघि देखि नै खेलप्रेमिहरुको लाइन सुरु भएको थियो भने बिहान आठ नबज्दैदेखि टिकट काट्नेहरु लाइनमा थिए।
यसपटक भौतिक रुपमा उपस्थित भएरै टिकट लिनु पर्ने एन्फाले जनाएको छ। यसअघि अनलाइनबाट टिकट बुक गरेकाहरुको टिकट भने एन्फाले खारेज गरेको छ। पहिले नै अनलाइन टिकट काटिसकेकाहरुको भने रकम फिर्ता गरिने एनफाले जनाएको छ।
आज हुने खेलका लागि साधारणतर्फ १० हजार र भीआइपी तर्फ १ हजार टिकट बेच्ने एन्फाको तयारी छ।एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै टिकट किन्न पाउनेछन्। एन्फाका टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले सो संख्यामा टिकट बिक्री गरिने जानकारी दिएका हुन।
दशरथ रंगशालाको प्यारापिट १५ हजार जना अट्ने क्षमता छ। तर एन्फाले ११ हजार थान मात्रै टिकट बिक्री गरिने बताएको हो।
नेपाल र बंगलादेशबीचको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि सुरु हुने छ। तर दर्शकलाई साँझ ५ बजेभित्रै रंगशाला प्रवेश गरिसक्न एन्फाले आग्रह गरेको छ ।



