काठमाडौं। बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु भएको छ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु भएको जानकारी दिए। थापले प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा विस्तारै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी रहेको बताए।
उनले भने, 'बागमती प्रदेशका अस्पतालमध्ये भक्तपुर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेका छौँ, यो सेवा अब निरन्तर भक्तपुर अस्पतालमा चल्ने छ। यो सेवालाई विस्तार गर्ने नीति स्वास्थ्य मन्त्रालयले लिएको छ, अन्य अस्पतालमा पनि यो सेवालाई विस्तार गर्नेछौँ।'
मन्त्री थापाले आँखाको शल्यक्रिया सेवा सञ्चालन गर्न मन्त्रालयले बजेटको व्यवस्थापन गरेको बताउँदै दरबन्दीसहितका चिकित्सकीय सेवा प्रदेशका सबै अस्पतालमा विस्तार गर्न मन्त्रालयले बजेटको व्यवस्था गर्ने पनि बताए।
अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले आँखाको ओपिडी सेवा पहिलादेखिनै सञ्चालन भए पनि शल्यक्रिया सेवा नहुँदा बिरामीलाई बाध्य भएर तिलगङ्गा आँखा अस्पताल पठाउनुपर्ने बाध्यता मंगलबारदेखि हटेको बताए।
उनले मंगलबार सफलतापूर्वक बिरामीको आँखाको शल्यक्रिया गरेको बताउँदै यसका लागि नेत्र विशेषज्ञ डा अनुपमा अमात्यको नेतृत्वमा दुई जना आँखा रोग विशेषज्ञ र एकजना प्राविधिक गरी तीनजना जनशक्ति खटिएको बताए।
उनले अब आँखाका उपचारका लागि अन्य अस्पताल धाउनुपर्ने बिरामीको बाध्यता अन्त्य भएको बताए।



