काठमाडौं। काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम राखिएको हल्ला भएपनि विमानमा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ।
विमानमा बम राखिएको हल्लापछि नेपाल प्रहरी र नेपाली सेनाले विमानमा जाँच थालेका थिए। सोमबार (आज) दिउँसो २ बजेर ४१ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयर इण्डियाको विमानमा फर्किने तयारी हुँदै गर्दा बम राखिएको सुचना दिइएको थियो।
भारतबाटै आएको सुचनापछि विमानमा नेपाल प्रहरी र नेपाली सेनाले चेकजाँच गरेका थिए। तर सो सुचना गलत रहेको पुष्टि भएको छ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले विमानमा कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएको जानकारी दिइन।
‘कुनै पनि शंकास्पद वस्तु फेला परेन, चेकजाँच सकिएको छ, अब जहाजले नियमित उडान गर्छ ।’ एआइजी राणाले भनिन।
प्रहरीले ३ बजेर १५ मिनेटमा विमानमा बम रहेको सुचना आएको बताएको थियो। त्यसलगत्तै प्रहरी र सेनाको टोलीले विमानलाई घेरा हालेर जाँच गरेका थिए। यस्तै बम डिस्पोजल टोलीसमेत परिचालन गरिएको थियो भने तालिम प्राप्त कुकुरहरुसमेत लगेर डग स्निफिङ जाँच भएको थियो।
यसअघिसमेत भारतको दिल्लीबाट काठमाडौ आएको भिस्तारा एयरको विमानमा बम राखिएको हल्ला फैलाइएको थियो। त्यसबखतसमेत भारतबाट नै विमानमा बम राखिएको सुचना आएपछी कडा रुपमा चेकजाँच गरिएको थियो। तर त्यसबखत पनि विमानमा जाँच गर्दा कुनै पनि वस्तु फेला परेको थिएन।



