काठमाडौं। देशमा दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ र आधुनिक विज्ञान दोस्रो महासम्मेलन आयोजना हुने भएको छ।
नेपाल महर्षि वैदिक फाउन्डेसनले यही कात्तिक २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा महायज्ञ आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
महर्षि महेश योगी नेपाल भ्रमणको स्वर्णमहोत्सव तथा गुरुकुलहरुमार्फत प्रतिदिन भइरहेको उद्यापनका सन्दर्भमा महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक मूलसमितिले जनाएको छ।
महायज्ञमा भावातीत ध्यान र सिद्धि साधक एक हजार एक सय ११ आचार्य तथा बटुक पण्डितबाट हुने पहिलो अतिरुद्र विश्वकल्याण विराट महायज्ञ भएको आयोजकको दाबी छ।
पत्रकार सम्मेलनमा पूर्वगृहराज्यमन्त्री एवम् महायज्ञ मूल समारोह समितिका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले महायज्ञबाट नेपालमा शान्ति र सद्भावना अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।
“यज्ञ र योगलाई संसारभरमा शान्ति स्थापना गर्ने माध्यमका रुपमा अगाडि सारिएको छ। यसबाट नेपालसहित विश्वभर शान्ति, सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने।
फाउन्डेसनले विगत १२ वर्षदेखि महायज्ञ गर्दै आइरहेको छ। यस पटकको महायज्ञमा स्वयं कर्ता बन्ने र कर्ताहरुको समूहले सामूहिक आयोजना गरेको राष्ट्रको समृद्धि दिगो शान्ति र विश्वकल्याणको पहिलो महायज्ञ भएको महायज्ञका सञ्चार विभाग प्रमुख समीक्षा बास्कोटाले जानकारी दिइन।
उनले महायज्ञ आफ्नो परिवार, समाज र राष्ट्रको पुण्य प्राप्तिका साथै राष्ट्रको समृद्धिका लागि अपरिहार्य रहेको बताइन।
यही कात्तिक २१ गते महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा एक सय आठ शङ्खघण्टसहित विहान साँढे १० बजेदेखि भद्रकाली, सहिहदगेट रत्नपार्क हुँदै शोभायात्रा हुनेछ।
विज्ञान महासम्मेलन हुने
महायज्ञकै दौरानमा कात्तिक २२ देखि २४ गतेसम्म तीन दिन वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन गरिनेछ। युरोप अमेरिकालगायत देशबाट ७० भन्दा बढी विज्ञ एवं प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएको छ।
यसैगरी, कात्तिक २१ देखि २५ गतेसम्म आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनीसमेत आयोजना गरिनेछ। अर्गानिक एसोसिएसन नेपाल र कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर आयोजक रहेको उक्त मेलामा ५० भन्दा बढी अर्गानिक तथा प्राकृतिक उत्पादनहरुका स्टल रहनेछन्।
मेलाका संयोजक शान्ता बास्कोटा कोइरालाले नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको बताइन्।
उनका अनुसार मेलामा करिब रु ३० लाख खर्च हुने र झन्डै रु एक करोडको कारोबार हुने अपेक्षा गरिएको छ। मेला सञ्चालनका लागि महर्षि वैदिक फाउन्डेसनको सहयोग रहेको छ भने मेलामा स्टल राख्न चाहनेले एक स्टल बराबर कुल ३० हजार रुपैयाँ तिर्नु पर्ने आयोजकले बताएको छ।



