काठमाडौं। नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत चिकित्सा शास्त्र महाविद्यालयमा एमबीबीएस अध्ययन गरी इन्टर्नसिपसमेत पुरा गरेका ८७ जना डाक्टरहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ।
प्रधानसेनापति महारथी अशोकराज सिग्देलले आइतबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा इन्टर्नसिप पुरा गरेका डाक्टरहरूलाई बधाई तथा शुभकामनासहित प्रमाणपत्र प्रदान गरेका हुन।
स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरी राष्ट्रको आवश्यकतालाई परिपूर्ति गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाली सेनाको सैनिक कल्याणकारी कोषमार्फत २०६८ देखि स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत एमबीबीएस अध्ययन हुँदै आएको छ। हालसम्म ७३३ जना विद्यार्थीहरू दीक्षित भई सकेका छन् ।
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत चिकित्सा शास्त्र महाविद्यालय, नर्सिङ महाविद्यालय तथा नेपाली सेना स्वास्थ्य विज्ञान महाविद्यालयहरूमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा हाल सैनिक तथा गैर सैनिकका १ हजार ६५६ जना छात्र/छात्राहरू अध्ययनरत छन्।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक, प्रोफेसर, अधिकृत लगायतको उपस्थिति थियो।



