काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखिएको, अनुसन्धानका नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र गरिएको भन्दै वार्ता र संघर्ष सँगस्ँगै अघि बढाउने निर्णय गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय चमतीमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले वार्ता र संघर्षका कार्यक्रमका लागि मुल समिति बनाएको छ।
रास्वपाले वार्ताका लागि उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा र संघर्षका लागि अर्का उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा समिति बनाएको हो।
रास्वपाले वाग्लेको नेतृत्वमा बनाएको समितिलाई `राजनीतिक नागरिक संवाद´का लागि भनिएको छ। यस्तै अर्यालको नेतृत्वमा बनाएको समितिले सातै प्रदेशका सभापतिलाईसमेत समेटेर प्रदेश स्तरमा नै आन्दोलन गर्ने रणनीति लिएको छ।
सहकारी ठगी प्रकरणको अनुसन्धानका नाममा पक्राउ गरिएका आफ्ना सभापति रबि लामिछानेलाई राजनीतिक प्रतिशोध त्यागी तत्काल रिहाइ गर्न सरकारसँग माग गर्दै रास्वपाले वार्ता र संघर्ष एकैपटक अघि बढाउन समिति बनाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाले केन्द्रीय समिति बैठकमार्फत राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवम सहकारी पीडितको ८८ अर्ब फिर्तासहित न्यायका लागि आन्दोलन जारी राख्ने निर्णय गरेको हो।
बैठकले उपसभापति अर्यालको संयोजकत्वमा सात प्रदेशका पार्टी सभापति सदस्य रहनेगरी आन्दोलन सञ्चालन मुल समिति गठन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता झाले जानकारी दिएका हुन।



