मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`अधिकांश क्यान्सरमा सुरुमा लक्षण नै देखिँदैन´

`अधिकांश क्यान्सरमा सुरुमा लक्षण नै देखिँदैन´

images
२०८२ भाद्र २० गते, शुक्रवार
२०८२ भाद्र २० गते, शुक्रवार
  • पछिल्ला बर्षहरुमा नेपालमा बढिरहेका नसर्ने रोगहरुमध्ये प्रमुख एक हो क्यान्सर। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको विपन्न नागरिक उपचार कार्यक्रममार्फत् उपचारमा सहुलियत लिनेको तथ्यांक हेर्दा दुई आर्थिक बर्षको अन्तरालमा नै यो संख्या पाँच हजारले बढेको छ। आर्थिक वर्ष २०७९/०८० मा १६ हजार जना क्यान्सरका बिरामीले विपन्न नागरिकका लागि राज्यले दिने एकलाख रुपैयाँ सहुलियत लिएकोमा यो संख्या ०८०/०८१ मा बढेर २२ हजार पुगेको देखिन्छ। सहुलियत नलिइ उपचार गराउने र विदेशमा उपचारका लागि जानेको यकिन तथ्यांक भने छैन।

    images

    यद्यपी क्यान्सर भयावह रुपमा बढ्दै गएको र यसको उपचारमा व्यक्तिको क्षमताभन्दा बाहिरको खर्च (आउट अफ पकेट एक्स्पेन्डेचर) बढेको भने विभिन्न तथ्यांकले देखाउँछन्। नेपालमा हाल क्यान्सरको अवस्था उपचारको पहुँच, नियन्त्रणका लागि राज्यले अपनाउनुपर्ने रणनीति लगायतका विषयमा हामीले भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे सँग कुराकानी गरेका छौं। प्रस्तुत छ एक्सरे नेपालले डाक्टर चालिसेसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश: 

    images

    नेपालमा अहिले क्यान्सरको अवस्था कस्तो पाउनुभएको छ? कस्ताखाले क्यान्सरका बिरामी धेरै देखिएका छन्?

    नेपालमा पछिल्ला वर्षहरुमा नसर्ने रोग तीव्र गतिमा बढिरहेका छन्। त्यसमध्येको मुख्य एक क्यान्सर पनि हो। भक्तपुर क्यान्सर अस्पताल र अस्पतालले देशका विभिन्न स्थानहरुमा गरेको स्वास्थ्य शिविरको तथ्यांकलाई हेर्दा जोगिन सकिने क्यान्सरहरु धेरै देखिएका छन्। जस्तै महिलामा पाठेघरको मुखको र स्तन क्यान्सर धेरै छ भने पुरुषमा फोक्सो, मुख तथा अन्द्राको क्यान्सर बढेको देखिन्छ। समग्रमा भन्नुपर्दा अहिले देखिएकोमध्ये एक तीहाइ जनसंख्यामा रोक्न सकिने खालको क्यान्सर भएको देखिन्छ।

    क्यान्सरका बिरामी बढ्नुमा मुख्यत: कस्ता कुराहरुको असर पाइएको छ?

    नेपालको हकमा क्यान्सरका बिरामी बढ्नुका एकदमै ठोस कारणहरु छन्। धुमपान मद्यपान र असुरक्षित यौन सम्बन्ध। पछिल्ला वर्षहरुमा अर्को मुख्य कारण बनेको छ दलिँदो जीवनशैली। यी तीनचार वटा अभ्यासमा परिवर्तन गर्न सके क्यान्सर नियन्त्रण गर्न सकिन्छ।

    जोगिनसक्ने अवस्था हुँदाहुँदै पनि क्यान्सरका बिरामी बढ्नु र जटिल बन्नुमा के कारण देख्नुहुन्छ?

    क्यान्सर नियन्त्रणमा नेपालको मुख्य चुनौति भनेकै समयमा पहिचान नहुनु हो। यसका केही मुख्य कारण छन्। पहिलो कुरा त क्यान्सरबारे अहिले पनि जनस्तरमा पर्याप्त जनचेतनाको अभाव छ। अधिकांश क्यान्सरमा सुरुमा लक्षण नै देखिँदैन। जतिबेला लक्षण देखिन्छ रोगको अवस्था केही जटिल बनिसकेको हुन्छ। अर्को कुरा हामीकहाँ परीक्षण सेवा सबैको पहुँचमा छैन। जसले गर्दा दूरदराजका नागरिक ढिलो परीक्षणमा आइपुग्ने गरेका छन्। पहिचान भएपछि पनि आर्थिक अभावका कारण कतिपय नागरिकले बीचमै उपचार छोड्ने र अकालमा ज्यान गुमाउनुपरेको तितो यथार्थ पनि छ।

    क्यान्सरको परीक्षण र उपचारमा पहुँच बढाउन समुदाय र राज्यले के गर्नुपर्ला त?

    क्यान्सर नियन्त्रणमा व्यक्तिदेखि राज्यसम्मको भूमिका हुन्छ। सबभन्दा पहिले त राज्यका तीन निकायले आ आफ्नो कार्यक्षेत्र छुट्याएर काम गर्नुपर्छ। रोकथामको काम स्थानीय सरकार, रोग पहिचानको जिम्मेवारी प्रदेश र उपचारको पाटोमा संघ सरकारले काम गर्नुपर्छ।

    जस्तो की स्क्रीनिङ र सामान्य परीक्षणहरु पालिकास्तरमा नै हुनुपर्छ।  कम्तीमा एक प्रदेशमा सरकारी स्तरको उपचार केन्द्र हुनुपर्छ। उपचार पद्धतीको दायरा पनि बढाइनु पर्छ। राज्यले उपचारमा मात्रै नभइ रोकथामका कार्यक्रममा पनि बजेट बढाउनुपर्ने देखिन्छ। समुदायस्तरमा पनि विभिन्न प्याकेजहरु बनाएर, सचेतनाका कार्यक्रम, परीक्षण शिविर लगायतका काम गर्नुपर्ने देखिन्छ।

    त्यस्तै रोक्न सकिने क्यान्सरका कारकहरुमा राज्यले निगरानी र कडाइ गर्नुपर्छ। जस्तो की सुर्तीजन्य पदार्थ, मदिराजस्ता कुराहरुको प्रयोगमा कडाइ गर्न सकिन्छ। योजनावद्ध तरिकाले यी सबै नीति कार्यान्वयन गर्ने हो भने क्यान्सर नियन्त्रण सम्भव छ।

    क्यान्सरको उपचारमा विपन्न नागरिकलाई सरकारले दिएको एकलाख रुपैयाँ वा प्रदेश सरकारहरुले दिएको सहुलियत पर्याप्त छ त?

    सरकारले विपन्न नागरिकलाई क्यान्सर उपचारमा दिने गरेको एकलाख रुपैयाँ बराबरको सहुलियत पर्याप्त होइन तर त्यसले राहत भने पक्कै भएको छ। पछिल्ला बर्षहरुमा प्रदेश सरकारहरुले पनि आफ्ना नागरिकका लागि सहुलियत रकम थप गरेका छन्। सरकारी अस्पतालमा उपलब्ध उपचार सेवा लिने हो भने एकलाख रुपैयाँले धेरै सहयोग पुग्छ।

    तर निजी अस्पतालमा परीक्षण र उपचार शुल्क नै महंगो हुने हुँदा यो सुहलियत पर्याप्त नभएकोे देखिन्छ। त्यसो त नेपाल सरकारले समग्र स्वास्थ्य क्षेत्रका लागि छुट्याउने गरेको बजेट नै अत्यन्तै न्यून छ। यो बजेट बढाउनु आवश्यक छ। अर्को पक्ष ठूला अस्पताल काठमाडौं केन्द्रीत छन्। मोफसलबाट आउने बिरामीका परिवारको आउनेजाने, बस्ने खाने खर्च नै उपचार खर्चभन्दा धेरै भएको पाइन्छ। यसकारण राज्यले विभिन्न सहुलियत दिँदैगर्दा पनि क्यान्सर उपचारमा व्यक्तिगत खर्च बढेको पाइएको छ।

    क्यान्सर उपचारमा व्यक्तिको खर्च घटाउन राज्यले कस्तो नीति लिनुपर्ला?

    क्यान्सर होस् या कुनैपनि घातक रोग, नागरिकको खर्च कम गर्न रोकथामको पाटोमा बलियोगरी काम गर्नैपर्ने हुन्छ। जस्तै की पालिका र जिल्लास्तरमा क्यान्सर पहिचानका लागि परीक्षण सेवा विस्तार गर्ने। त्यसका लागि जनशक्तिको अभाव भए संघीय अस्पतालहरुसँग सहकार्य गर्न सकिन्छ। यस्तै लक्षण र उमेर अनुसार समय समयमा परीक्षण गर्नेबारे जनचेतनाका लागि प्रभावकारी कार्यक्रम गर्ने । उपचार सेवा बढीभन्दा बढी विस्तार गर्ने। विस्तार मात्रै होइन विशिष्टीकृत पनि गर्नुपर्ने देखिन्छ। क्यान्सर नियन्त्रणमा अन्य देशहरुले लिएका रणनिति पनि फलो गर्न सकिन्छ। अहिले बनेकै रणनितिहरु प्रभावकारी कार्यान्वयन गर्ने हो भने पनि धेरै फड्को मार्न सकिन्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend