काठमाडौं। पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको बिरोधमा काठमाडौंमा रास्वपाले विरोध प्रदर्शन गरेको छ।
रास्वपाले आज शुक्रबार माइतीघर मण्डलाबाट सुरु गरेको बिरोध प्रदर्शन बानेश्वरको एभरेष्ट होटल अगाडी पुगेपछि समापन गरिएको थियो।
प्रदर्शनमा सहभागी रास्वपा सांसद शिशिर खनालले सरकारले रास्वपामाथि प्रतिशोधपुर्ण व्यवहार देखाएकाले बाध्य भएर प्रदर्शनमा उत्रनु परेको जानकारी दिए।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले सहकारी पीडितलाई न्याय दे, प्रतिशोध साध्न पाइदैन, भ्रष्ट सराकार चाहिंदैन लगायतका नारा लेखिएका प्लेकार्ड बोक्दै सरकार विरुद्ध नारावाजीसमेत गरेका थिए।
लामिछानेलाई प्रहरीले गत २ कात्तिकमा काठमाडौबाट पक्राउ गरेर कास्की लगेको छ। कास्कि प्रहरीले लामिछानेमाथि जिल्ला अदालत कास्कीबाट हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान गरिरहेको छ।
अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुने गरी ६ दिनको म्याद थपेको थियो। तर बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले हिजो बिहीबार फेरी ७ दिनको म्याद थपेको छ। त्यसयता रास्वपाका नेताकार्यकर्ता निरन्तर सरकार बिरुद्ध प्रदर्शनमा उत्रँदै आएको छ।



