काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रयोग गरे वापतको बक्यौता रकम नतिर्ने ३४ वटा उद्योगको लाइन काटेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनपछि बिहीबार रातिदेखि विद्युतको बक्यौता रकम नतिर्ने ३४ वटा उद्योगको रकम काटिएको हो।
प्राधिकरणलाई ४९ उद्योगले बक्यौता रकम तिर्न बाँकी थियो। त्यसमध्ये ६ उद्योग सम्पर्कमा आएर किस्ताबन्दीमा रकम तिर्ने प्रतिबद्धता जनाइसकेका छन। विभिन्न उद्योगले ६ अर्ब ४३ करोडभन्दा बढि रकम प्राधिकरणलाई तिर्न बाँकी रहेको प्राधिकरणका उच्चतहका कर्मचारीहरु बताउँछन।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बिहीबार अबेरसम्म पनि किस्ताबन्दीको सुविधा लिएर रकम तिर्न उद्योगीहरूलाई सुझाव दिएका थिए।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन सुविधाबाट विद्युत् उपभोग गरेर लामो समयदेखि महसुल नतिरेका उद्योगको लाइन काट्नुअघि अर्थात गत असोज २३ गते रकम तिर्न पछिल्लोपटक १५ दिनको समय दिएको थियो।
सो समय बित्दासमेत उद्योगहरुले बक्यौता रकम नतिरेपछि प्राधिकरणले बाध्य भएर लाइन काटिएको जनाएको छ।
किस्ताबन्दीमा रकम तिर्ने प्रतिबद्धता जनाएका उद्योगले भने अब किस्ता किस्तामा बक्यौता रकम तिर्ने सुविधा पाएका छन।
अन्य ७ वटा उद्योगले भने रकम नतिर्नका लागि यसबीचमा अदालतको अन्तरिम आदेश लिएका छन्। पछिल्लो सूचना प्रकाशित गरेपछि उनीहरु त्यसविरुद्ध अदालत गएकोमा अदालतले अन्तरिम आदेश दिएको थियो।
प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै उद्योगहरुलाई पहिलेसमेत तीन महिनाको समय दिएको थियो। सो समय बिहीबार सम्म थियो।
त्यसअघि रकम नतिरेपछि ६ वटा उद्योगको लाइन काटिएको थियो। तर सरकारले प्राधिकरणलाई लाइन जोड्न निर्देशन दिएपछि पुन: प्राधिकरणले तीन महिननाको समय दिएर लाइन जोडिएको थियो।



