काठमाडौं। गत बुधबार ललितपुरको चाल्नाखेलमा एक महिलालाई अपहरण गरेर बन्धक बनाइएको सुचना प्रहरीले पायो। प्रहरीले त्यति बेला बन्धक बनाइएको भनिएकी महिलाको आफन्त वा अरु कोहीबाट नभएर ती महिला आफैले सुचना दिएको खबर पाएको थियो। जुन घटनालाई प्रहरीले त्यतिबेला नै `फेक´ आशंका गर्यो । किन भने अपहरणमा परेको भन्दै फोन गर्ने महिला आफैं भएको प्रहरीलाई सुचनामै भनिएको थियो।
त्यसबखत उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट नेपाल प्रहरीको टोली घटनास्थल गयो। र प्रहरीले संलग्न भनिएकाहरुलाई नियन्त्रणमा लियो। दक्षिणकाली बस्दै आएका अमृत लामा र कविता परियार पक्राउ परे।
तर प्रहरी अनुसन्धानका क्रममा सो घटना अपहरण वा बन्धक बनाइएको नभएको खुलेको छ। प्रहरीले त्यसबखत सर्लाहीको बागमती गाउँपालिका घर भएर काठमाडौँ बस्ने सिर्जना खत्रीलाई चाल्नाखेलबाट उद्दार गरेको थियो। उनैले आफुलाई बन्धक बनाइएको भन्दै फोन गरेकी थिइन।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले खत्रीलाई उद्धारपछि अनुसन्धान गर्दा अपहरण पुष्टि नभएको जानकारी दिए।
उनले घटनामा आर्थिक लेनदेनको बिषय भने जोडिएको र अन्य पाटोमा प्रहरीले अनुसन्धान गरिरहेको बताए।
`अपहरण र बन्धक बनाइएको भन्ने देखिएन, अन्य पाटोमा अनुसन्धान हुँदैछ,´ एसपी जिसीले भने।
प्रहरीले लामा र परियारलाई भने रिहा गरिसकेको छ।खत्रीले लामासँग कोरिया पठाइदिने भन्दै २१ लाख बुझेको अनुसन्धानबाट देखिएको छ। कोरियाको भिसा आएको र टिकट पनि बनिसकेको भन्दै खत्रीले झुटो आश्वासन दिएपछि एकपछि अर्को गर्दै लामाले शंका गर्न थालेको खुलेको छ।
त्यसपछि लामाले पैसा फिर्ता माग्न लागेपछि खत्रीले ५ लाख फिर्ता गरेको र बाँकी रकमको चेक दिएर नसाटिएपछि घटनाले अपहरण र बन्धकको मोड लिएको प्रहरीको बुझाइ छ।
त्यस अघि उनीहरु पैसा फिर्ता नभएको बिषय र चेक नसाटिएको विषयमा किर्तिपुर प्रहरी बृत्तसम्म पुगेको पनि पाइएको छ।
त्यसबखत प्रहरीले सो बिषय बैदेशिक रोजगार बिभागको रहेको भन्दै फिर्ता पठाएपछि अवस्थाले नाटकीय रुप लिएको पाइएको हो।
वैदेशिक रोजगार बिभागले लामालाई चेकको विषयमा प्रहरीमा बैंकिङ कसुरमा जाहेरी दिन भन्दै फिर्ता पठाएको बुझिएको छ। प्रहरीका अनुसार घटना त्यहाँसम्म पुगेपछि खत्री आफैँ परियारको डेरामा गएको र त्यहाँबाट आफू अपहरणमा परेको तथा बन्धक बनाइएको भन्दै प्रहरीसम्म सुचना आएको खुलेको हो।
तर प्रहरीले भने आफ्नो टोली पुग्दा खत्रीलाई बन्धक बनाइएको अवस्था नदेखिएको जनाएको छ।
घटना भएको सुचनापछि एक्सरे नेपालले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका वरिष्ठ प्रहरी उपरीक्षक बिनोद घिमिरेसँग घटनाको वास्तविकता बारे सुचना मागेको थियो।
त्यसबखत नै उनले एक महिलाले आफुलाई बन्धक बनाएको भन्दै पत्रकारलाई सुचना दिएको जानकारीपछि प्रहरी अनुसन्धानमा खटिएको जानकारी दिएका थिए।
`मलाई बन्धक बनाइयो भनेर पत्रकारलाई ती महिलाले आफै फोन गरेको सुचना आएको छ, वास्तविकता के हो बुझ्न हाम्रो टोली चाल्नाखेल गएको छ, बुझ्दै छौं,´ घिमिरेले त्यसबखत एक्सरे नेपालसँग भनेका थिए।
उनको भनाइबाट नै त्यसबखत घटनालाई प्रहरीले नै शंकास्पद मानेको बुझिएको थियो।
महिला आफैले फोन गरेकाले बन्धक भएँ भन्ने र बन्धक बनाइएको आरोप लगाइएको दुबै पक्षलाई प्रहरीले ल्याएर अनुसन्धान गर्ने त्यसबखत वरिष्ठ प्रहरी उपरीक्षक घिमिरेले भनेका थिए।



