काठमाडौं। सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका रास्वपाका सभापति तथा पुर्व गृहमन्त्री रबि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान थालिएको छ।
लामिछानेलाई गत २ कार्तिकमा पक्राउ गर्दा सहकारी ठगी र संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न भन्दै पक्राउ पुर्जी जारी गरिएको थियो। तर आज बिहीबार उनलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदा भने उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थप गरिएको छ।
लामिछानेलाई यस अघि ४ कार्तिकमा प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो। त्यसबखत जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। सो म्याद सकिएपछि बिहिबार प्रहरीले पुन: उनलाई अदालतमा उपस्थित गराएकोमा कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले लामिछानेमाथि अनुसन्धान जारी रहेको र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थप भएको बताए।
`सहकारी ठगी, संगठित अपराधमा अनुसन्धान भइरहेको थियो। अब सम्पत्ति शुद्धीकरणको मुद्धामा पनि अनुसन्धान प्रक्रिया अगाडि अघि बढेको छ।´ डीएसपी शर्माले भने।
लामिछानेले भने आफुलाई एकपछि अर्को मुद्दा थप गरेर सरकारले पुर्वाग्रहपुर्ण व्यवहार देखाएको भन्दै अदालतले न्याय दिने बिश्वास रहेको बयानका क्रममा बताएका थिए।



