काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सिंहदरबारस्थित कार्यालयबाट प्रदान गर्दै आएको सेवा नारायणहिटी दरबार संग्रहालय परिसरबाट प्रवाह गर्ने भएको छ।
विभागले कात्तिक ११ गतेदेखि दरबार संग्रहालय परिसर (केशरमहल अगाडि) रहेको विभागको ईकाईबाट सेवा प्रवाह गर्न लागेको हो।
सर्वसाधारणको सहज पहुँच र सुविधालाई दृष्टिगत गरी यस्तो व्यवस्था मिलाइएको विभागले जनाएको छ।
विभागद्धारा जारी सूचनामा भनिएको छ, ‘यस विभागले सिंहदरबारस्थित कार्यालय परिसरबाट प्रदान गरिदैँ आएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा अन्य जानकारीसम्बन्धी सेवाहरु सर्वसाधारणको सहज पहुँच र सुविधालाई दृष्टिगत गरी मिति २०८१-०७-११ गतेदेखि नारायणहिटी दरबार संग्रहालय परिसर (केशरमहल अगाडि) भित्र रहेको राष्ट्रिय परिचयपत्र ईकाईबाट प्रवाह गरिने जानकारी गराइन्छ।’
यसअघि सिंहदरबारको गृहमन्त्रालय रहेको पुरानो भवनबाट सो सेवा हुँदै आएको थियो। अब सिंहदरबारबाहिरै बाट काम हुने भएपछि सर्वसाधारणले भने सहज हुनेछ। सिंहदरबारमा प्रवेश गर्न पास लिनु पर्ने झन्झट थियो।



