काठमाडौं। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।
बिहिबार आज लामिछानेलाई प्रहरीले थप भएको म्याद सकिएपछि कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो।
कास्की जिल्ला अदालतका सुचना अधिकारी सुरज अधिकारीले न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जानकारी दिए।
लामिछानेलाई गत साताको शुक्रबार काठमाडौबाट पक्राउ गरेर पोखरा लगिएको थियो भने उनलाई आइतबार मात्र अदालतमा उपस्थित गराइएको थियो।त्यसबखत उनलाई पक्राउ परेकै दिन देखि गणना हुने गरि ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ।



