काठमाडौ।पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई आज बिहिबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।
लामिछाने र जोशीलाई हिरासतमा राख्न थप गरिएको म्याद सकिएपछि प्रहरीले दुबैजनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो।
लामिछानेलाई गत साताको शुक्रबार काठमाडौ बाट पक्राउ गरेर पोखरा लगिएको थियो भने उनलाई आइतबार मात्र अदालतमा उपस्थित गराइएको थियो। त्यसबखत उनलाई पक्राउ परेकै दिन देखि गणना हुने गरि ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
जोशीलाई भने आइतबार नै पुन: म्याद थप गरिएको थियो। आज भने दुबैजनालाई एकैपटक अदालत लगिएको हो।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ।
जोशी भने गत असोज ६ गते नै पक्राउ परेका थिए। जोशी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक हुन। उनलाई पोखराबाट भैरहवा लगेर त्यहासमेत अनुसन्धानका लागि बयान लिएर पुन: पोखरा ल्याइएको हो।



