काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन्त्री प्रदीप पौडेलले न्युरो सम्बन्धि उपचार सेवाका लागि छुट्टै सरकारी अस्पताल खोल्न प्रयास थालेका छन।
स्वास्थ्य मन्त्री पौडेलले सहुलियतमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापना गर्ने तयारी अघि बढाएका हुन। त्यसका लागि उनले न्युरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेका छन।
मन्त्री पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका सहप्राध्यापक डाक्टर गोपाल सेढाईको संयोजकत्वमा सम्भाव्यता अध्ययन समिति गठन गरेका हुन्।
समितिको सदस्यमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर) अस्पतालका डा.विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डा.राजिव ओझा, नेप्लिज एसोसिएसन्स अफ न्युरोलोजिष्टका प्रतिनिधि र अमेरिकाको जाकोल्स स्कूल अफ मेडिसिन एण्ड बायोमेडिकल साईन्सका सहप्राध्यापक डा.अमित कँडेल सदस्य छन्।
यस्तै मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डा.पुष्पराज पौडेल सदस्यसचिव तोकिएका छन्।
समितिले देशमा राष्ट्रिय न्यूरो सर्जरी केन्द्रको स्थापनाका लागि आवश्यक सुझाव लिएर उपयुक्त जग्गा खोजी सम्भाव्य स्थानको पहिचान गर्नेछ।
समितिलाई अध्ययन तथा विज्ञसँग गहन छलफलपछि स्वीकृतिका लागि मन्त्रालयसमक्ष सुझाव पेश गर्न भनिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए।
‘अहिले न्यूरोसँग सम्बन्धित रोगको भार बढिरहेको छ, यो अवस्थालाई सम्बोधन गर्न र विपन्न वर्गले पनि सहुलियतपूर्ण सुविधा पाउन् भन्ने हिसाबले केन्द्र स्थापना गर्न आवश्यक देखेर माननीय मन्त्रीज्यूबाट मन्त्रीस्तरीय निर्णमार्फत अध्ययन समिति गठन भएको हो।’ उनले भने।
बिरामीको चाप बढिरहेको न्यूरोसम्बन्धी उपचार हाल गैरसरकारी क्षेत्रबाट मात्र भैरहेको छ।



