भैरहवा। सहकारी ठगीको आरोपमा कास्कीको पोखराबाट बयानका लागि भैरहवा ल्याइएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार आज ८ घण्टा बयान लिइएको छ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा जोशीसँगको ८ घण्टाको बयानमा ५७ प्रश्न सोधिएको छ। उनलाई सोमबार हिजो पोखराबाट बुद्ध एयरको जहाजमा भैरहवा ल्याइएको थियो।
भैरहवा ल्याए लगत्तै उनीसँग प्रारम्भिक बयान सुरु गरिएको थियो। बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको हिनामिनामा पुरक अनुसन्धानका लागि जोशीलाई भैरहवा ल्याइएको हो।
मंगलबार आज भने उनलाई विहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म बयान लिइएको थियो। बयानका क्रममा जोशीसँग विभिन्न ५७ प्रश्न सोधिएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।
बयानका क्रममा उनले आफुले सहकारीको रकम ठगी नगरेको र सहकारीको रकम ग्यालेक्सी टिभीमा हालिएको बारे कुनै जानकारी नपाएको बयान दिएको बाताइएको छ।
जोशीसँग न्यायाधिवक्ता पौडेलसहित इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडे लगायतका प्रहरीले बयान लिएका थिए।
सुप्रिम बहुउद्देश्यीय सहकारीको ९३ करोड रकम हिनामिना भएको भन्दै २८ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। सो मुद्दामा आरोपित मध्ये ८ जना पक्राउ परेका छन्।
जसमध्ये अध्यक्ष ओम प्रकाश गुरुङ जिल्ला कारागार रुपन्देहीमा छन्। दीपेश पुन सहितका ७ जना धरौटीमा रिहा भएका छन भने जिबि राईसहित बाँकी आरोपित फरार छन् ।
सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झन्डै १५ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको देखिएको छ। त्यसमध्ये २ करोड गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रबि लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल जोशीका नाममा गएको देखिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
भैरहवामा बयान सकिएपछि जोशीलाई बुधबार भोलि पोखरा लाने तयारी गरिएको छ। उनी गत ६ असोजमा काठमाडौको शंखमुलबाट पक्राउ परेका थिए।
पछिल्लोपटक अनुसन्धानका लागि म्याद थप भएसँगै उनलाई प्रहरीले ८ कार्तिक सम्म हिरासतमा राख्न अनुमती पाएको छ। गोर्खा मिडिया नेटवर्कमा जीबी राई र रबि लामिछानेसँगै जोशी पनि साझेदार थिए। उनी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष हुन्।



