काठमाडौं। देशभर डेंगु सक्रमितको संख्या बढेको छ। २०२४ सुरु भएयता देशभरमा २२ हजार भन्दा बढी ब्यक्तिलाई डेंगु सक्रमण भएको छ। हाल हुम्ला बहेक ७६ जिल्लामा डेंगु फैलिएको छ।
काठमाडौंमा मात्रै तीन हजार ५९४ जनालाई संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ।
महाशाखाका अनुसार गत जनवरीदेखि २१ अक्टोबरसम्म २२ हजार ८२ जनामा डेंगुसंक्रमण पुष्टि भएको छ। यही बिचमा डेंगुबाट ११ जनाको ज्यान गएको महाशाखाले भनेको छ।
अक्टोबर महिना सुरु भएयता अर्थात सोमबार (हिजो) सम्म ६ हजार ४४३ जना संक्रमित थपिएका छन। काठमाडौमा मात्रै यो समयमा एक हजार ५२७ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।
काठमाडौं बाहेक २०२४ सुरुभएपछि कास्कीमा तीन हजार १८८, तनहुँमा दुई हजार १९५ ,पर्वतमा एक हजार ५८८ र चितवनमा एक हजार २० जना संक्रमित छन् ।
कसरी बच्ने?
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो। लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नु पर्ने चिकित्सकहरु सुझाउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्,‘पोस्ट मनसुन सुरु हुँदा डेंगुको जोखिम बढ्ने सम्भावना हुन्छ, दशैँ लगत्तै अस्पताल आउने डेंगुका बिरामी बढिरहेका छन्। समुदायमा डेंगु सङ्क्रमण फैलिएको देखिन्छ।´
डाक्टर पुनले डेंगु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने बताए।
‘झूलको प्रयोग गर्नु राम्रो हुन्छ, जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।’ पुनले भने।
पछिल्लो समय देशका विभिन्न स्थानमा भारी वर्षा भएसँगै अस्पतालहरुमा भीडभाड बढेको छ। अस्पताल पुग्ने धेरैजसो बिरामीमा डेंगु पुष्टी भइरहेको छ।
राजधानी काठमाडौंका वीर अस्पताल, टिचिङ, अस्पताल, पाटन अस्पताल, टेकु अस्पताल लगायतमा डेंगुबाट संक्रमित बिरामीहरुको संख्या बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रहसमेत गरिरहेको छ।
विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो।



