काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई सोमबार भैरहवा पुर्याइएसँगै बयान सुरु गरिएको छ।
गोरखा मिडिया नेटवर्कमा जीवी राई र रबि लामिछानेका तत्कालीन साझेदार रहेको तथा सो कम्पनीका तत्कालीन उपाध्यक्ष भएकाले जोशीलाई सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा पूरक अनुसन्धान गरिंदै छ।
उनलाई सोमबार नै पोखराबाट भैरहवा पुर्याइएको थियो भने सोमबारबाट नै बयान लिन सुरु गरिएकोमा आज मंगलबार पनि बयान लिइंदैछ।
जोशीलाई भैरहवा पुर्याएपछी हिजो सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा साँझ ७ बजेसम्म बयान लिइएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्याधिवक्ता प्रेमराज पौडेलले सोमबार बयान नसकिएकाले मंगलबार पनि बयान लिइने जानकारी दिएका हुन।
बुटवलको सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दामा अनुसन्धान गर्नका लागि कास्की प्रहरीले उनलाई रुपन्देही पुर्याएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। जोशी गत असोज ६ गते पक्राउ परेका थिए।
बुटवलको सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झन्डै १५ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको देखिएको छ।
जसमध्ये गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेको नाममा २ करोड र छविलाल जोशीका नाममा २ करोड ५० लाख रकम गएको देखिएको छ।
सुप्रिम सहकारीको ९६ करोड रकम अपलन भएको भन्दै २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ।
उक्त मुद्दामा ८ जना पक्राउ परेका थिए। जसमा अध्यक्ष ओमप्रकाश गुरुङ जिल्ला कारागार रुपन्देहीमा छन् भने दीपेश पुनसहित ७ जना धरौटीमा रिहा भएका छन्। जीबी राई लगायतका केही व्यक्ति अझै फरार रहेका छन्।



