पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।
लामिछाने विरुद्ध प्रहरीले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो। कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा सो मुद्दामाथि बहस भएको थियो।
पुर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत शुक्रबार पक्राउ गर्न जिल्ला अदालत कास्कीबाट अनुमति लिएको थियो। सोही दिन लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो भने राती नै उनलाई पोखरा पुर्याइएको थियो।
अदालतले दिएको ६ दिनको म्याद थपको समय गत शुक्रबारदेखि नै लागू हुने अदालतका सुचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। अब प्रहरीले आगामी बुधबारसम्म लामिछानेलाई हिरासतमा राख्न पाउँने छ। त्यसपछिसमेत म्याद थप गर्नु पर्ने अवस्थामा अदालतबाट अनुमति लिनु पर्छ।



