पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली भएको बताएका छन।
आइतबार जिल्ला अदालत कास्की पुर्याइएका लामिछानेले आफूलाई अदालतले न्याय दिने भन्दै सकारले आफुलाई फसाउन खोजेको तर आफू न्याय प्रक्रियामा सघाउन आएको प्रतिक्रिया दिए।
पत्रकारहरुसँगको कुराकानीमा आफूलाई न्यायलयप्रति विश्वास रहेकोसमेत उनले बताएका छन्। उनले सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको जिकिर गरे। सो क्रममा उनले ओली सरकार रहँदासम्म देशले दु:ख पाउने र निर्दोष ब्यक्तिलाई फसाउने खेल भैरहने बताए।
`केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, लामिछानेले पत्रकारहरुसँग भने।
`ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन्। यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने।
पुर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले आफ्ना पार्टीका नेताकार्यकर्तालाई सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि आह्वान गरेका छन।
लामिछाने गत शुक्रबार पक्राउ परेका थिए। उनलाई शनिबार सार्वजनिक बिदा परेका कारण आज आइतबार जिल्ला अदालत कास्की लगिएको हो।
प्रहरीले सहकारी ठगीमा अनुसन्धान गर्न भन्दै लामिछानेलाई पक्राउ गरिएको जनाएको छ।



