काठमाडौं। सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका रास्ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई आइतबार (आज) जिल्ला अदालत कास्कीमा उपस्थित गराइदै छ।
प्रहरीले पुर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार पक्राउ गरि स्थलमार्ग हुँदै पोखरा पुर्याइसकेको छ। कास्की प्रहरीका अनुसार लामिछानेलाई आज अदालत उपस्थित गराइने छ। शनिबार बिदा परेका कारण आज अदालतमा उपस्थित गराइने भएको हो।
लामिछानेलाई अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएसँगै उनलाई शुक्रबार साँझ प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो। उनलाई पोखरा पुर्याए लगत्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराइएको थियो।
आफ्ना पार्टी सभापति पक्राउ परेपछी रास्वपाका नेता कार्यकर्ता शुक्रबार देखिनै पोखरासहित देशका विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएका छन। लामिछानेलाई पोखरा लैंजाँदै गर्दासमेत राजमार्गका विभिन्न स्थानमा रास्वपाका कार्यकर्ताहरुले नारावाजी गरेका थिए।
यसैगरी पोखरामा सहकारी पीडितहरुले पनि प्रदर्शन सुरु गरिसकेका छन।
आज आइतबार पनि पोखरामा रास्वपाका नेता कार्यकर्ताहरुले आफ्ना सभापति पक्राउको विरोधमा विरोध कार्यक्रमसहित प्रदर्शन गर्दैछन। यस्तै सहकारी पीडितहरुले समेत न्याय पाउनुपर्ने मागसहित प्रदर्शनको तयारी गरेका छन।
सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।
सो मुद्दामा शुक्रबार मात्रै १४ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। सोही मुद्दामा पुर्व डीआईजी छविलाल जोशी कास्कीमा नै प्रहरी हिरासतमा छन।उनीमाथिको अनुसन्धानका लागि कास्की जिल्ला अदालतले गत शुक्रबार नै प्रहरीलाई थप २० दिनको समय दिएको थियो।



