काठमाडौं। भारतको अहमदावादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनाका कारण होस्टलमा खाना खाँदै गरेका ६ जना डाक्टरको मृत्यु भएको छ।
दिउँसो १ बजेर ३८ मिनेट जाँदा अहमदावादबाट लण्डनका लागि उडेको विमान उडेको दुई मिनेटमा नै दुर्घटनामा परेको थियो। सो विमान सिभिल अस्पतालको डाक्टरहरुको आवास रहेको चार वटा होस्टलको भवनमा ठोक्किन पुगेको थियो। विमान ठोक्किएपछि फैलिएको आगो र धुँवाका कारण होस्टल भग्नावशेष बनेको छ।
सो होस्टलमा डाक्टरहरु खाना खाँदै गर्दा विमान ठोक्किएपछि उनीहरूको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन। होस्टलमा रहेका ती डाक्टरहरु रेसिडेन्ट डाक्टरहरु हुन। मृतक डाक्टरहरुको शव चिन्न सकिने अवस्थामा नरहेको बताइएको छ।
विमान ठोक्किएपछि १५ जना डाक्टरहरु घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ। सो विमानमा २४२ जना यात्रु सवार रहेको एयर इन्डियाले जनाएको छ।

अहमदाबाद विमानस्थलको टर्मिनल १ प्रबन्धकले बीबीसी हिन्दीलाई बताएअनुसार दुर्घटनामा परेको विमान बोइङ ७८७–८ ड्रीमलाइनर हो। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकका अनुसार मेघनानगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो।
एयर इन्डियाले आफ्नो फेसबुकमा कालो संकेत राखेको छ। उसले लेखेको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडान गर्ने उडान नम्बर एआई१७१ आज १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।’
एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको र सकेसम्म चाँडो थप अपडेटहरू सार्वजनिक गर्ने बताएको छ।
विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।



