काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अतिरिक्त सचिवमा डा केशरबहादुर ढकाल र डा श्रीकृष्ण श्रेष्ठ बढुवा भएका छन्।
सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले डा ढकाल र डा श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव (१२औं तह) मा बढुवा गर्ने निर्णय गरेको हो।
स्वास्थ्य मन्त्रालयमा दुई अतिरिक्त सचिव पद रिक्त रहँदै आएको थियो। सिफारिस समितिले ती दुई पदका लागि तीन जनाको नाम सिफारिस गरेको थियो।
गत जेठ १ गते भएको सिफारिसमा बढुवाका लागि डा ढकाल, डा श्रेष्ठ र डा सुधा देवकोटाको नाम क्रमशः सिफारिसमा परेको थियो। सिफारिसमा रहेको सुची अनुसारकै दुई नामलाई अतिरिक्त सचिवमा छानिएको हो।
डा ढकाल प्रादेशिक अस्पताल सुर्खेतमा प्रसूति तथा स्त्री रोग विशेषज्ञको रुपमा कार्यरत छन् भने डा श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञको रुपमा कार्यरत छन्।
यसअघि अतिरिक्त स्वास्थ्य सचिव पदका लागि चैत्र ६ गते आवेदन माग हुँद २४ जनाले आवेदन दिएका थिए। पछि डा. डेलासिंह जोशीले आफ्नो आवेदन फिर्ता लिएपछि २३ जना दौडमा थिए। त्यसमध्येबाट पनि रिक्त दुई पदका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो।



