काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गरेको छ।
पार्टी सभापति रबि लामिछाने सहकारीको रकम ठगी आरोपमा पक्राउ परेपछि रास्वपाले अधिवेशन स्थगित गर्न जिल्ला समितिहरुलाई निर्देशन दिएको हो। रास्वपाको जिल्ला अधिवेशन गत बिहीबारदेखि सुरु भएको थियो।
रास्वपाले आफ्ना पार्टी सभापति पक्राउ परेपछि विरोधका कार्यक्रमलाई प्राथमिकता दिन सर्कुलर गरेको छ।
रास्वपाले शुक्रबार नै प्रतिसोध साँध्न आफ्ना सभापतिलाई पक्राउ गरिएको भन्दै बिज्ञप्ति जारी गरेको थियो।
त्यसपछि रास्वपाले पार्टी सभापति पक्राउको विरोधका लागि शनिबारदेखि जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम गर्न जिल्ला समितिहरुलाई भनेको हो।
`राजनीतिक प्रतिशोध साँधेर सरकारले दोषीलाई च्याप्ने निर्दोषलाई न्याक्ने गरी अराजनीतिक कदम चालेको विरोधमा देशैभर जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम आयोजना गर्नसमेत यसै सूचना मार्फत अनुरोध गर्दछौं,’ कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा भनिएको छ ।



