पोखरा। सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका रास्ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा हाजिर गराइने भएको छ।
प्रहरीले पुर्व गृहमन्त्री समेत रहेका लामिछाने लाई शुक्रबार पक्राउ गरि स्थलमार्ग हुँदै पोखरा पुर्याइसकेको छ। कास्की प्रहरीका अनुसार लामिछानेलाई आज शनिबार बिदा परेका कारण आइतबार अदालतमा उपस्थित गराइने भएको हो।
लामिछानेलाई अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएसँगै उनलाई शुक्रबार साँझ प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो।
लामिछानेलाई शनिबार बिहानै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराइएको छ। रास्वपाका नेता कार्यकर्ता भिडभाड हुने भन्दै प्रहरीले उनलाई बिहान ३ बजे नै स्वास्थ्य परिक्षणका लागि अस्पताल पुर्याएको थियो।
आफ्ना पार्टी सभापति पक्राउ परेपछी रास्वपाका नेता कार्यकर्ता शुक्रबार देखिनै प्रदर्शनमा उत्रिएका छन। लामिछानेलाई पोखरा लैंजाँदै गर्दासमेत राजमार्गका विभिन्न स्थानमा रास्वपाका कार्यकर्ताहरुले नारावाजी गरेका थिए।
लमिछानेलाई पोखरा लैँजादा उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले लगायतका शिर्ष नेताहरुसमेत पोखरा पुगिसकेका छन।
सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सो मुद्दामा शनिबार मात्रै १४ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।



